काठमाडौं । प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्रीको संसदप्रतिको व्यवहार, सरकारको कार्यशैली तथा सभामुखको भूमिकाबारे छलफल गरेका छन् ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतक तथा नेताहरू सहभागी भएको एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।
बैठकमा कांग्रेसका सचेतक बास्ना थापा, नेकपाका युवराज दुलाल र राप्रपाका खुस्बु ओलीलगायतको सहभागिता रहेको थियो ।
महरका अनुसार छलफलका क्रममा प्रधानमन्त्रीले संसदको उपेक्षा गरेको, गैरसंवैधानिक ढंगले अघि बढ्न खोजेको तथा संसदमा विपक्षी दलहरूको आवाजलाई दबाउने प्रयास गरेको विषयमा असन्तुष्टि जनाएका थिए ।
विपक्षी नेताहरूले सरकारले संसदीय मूल्य–मान्यता विपरीत पेलेर अघि बढ्ने दुस्साहस देखाएको आरोपसमेत लगाएका छन् ।
बैठकमा सभामुखको भूमिकामाथि पनि प्रश्न उठाइएको प्रमुख सचेतक महरले बताए । सहभागी नेताहरूले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको तथा दलगत प्रभावमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
विपक्षी दलहरूले संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना तथा लोकतन्त्रको रक्षाका लागि संसदभित्र साझा सहकार्य र समन्वयलाई आगामी दिनमा पनि निरन्तरता दिने निष्कर्ष निकालेको महरले जानकारी दिए ।
बैठकपछि विपक्षी दलहरूले संसदको गरिमा, विपक्षीको अधिकार र संसदीय अभ्यासको संरक्षणका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।