नेता गुरुङको नेतृत्वमा संविधान संशोधनका लागि नेकपाको कार्यदल गठन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको तयारी अघि बढाउँदै मस्यौदा कार्यदल गठन गरेको छ ।  पार्टीभित्रै संविधान संशोधनका विषयमा आवश्यक अध्ययन, छलफल तथा प्रस्ताव तयार पार्ने उद्देश्यले कार्यदल गठन गरिएको नेता गुरुङले जानकारी दिए । गठित कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् । कार्यदलले वर्तमान संविधानका प्रावधानहरूमा आवश्यक संशोधनका विषय पहिचान गर्ने, सरोकारवालासँग छलफल गर्ने तथा ठोस प्रस्ताव तयार पारेर पार्टी नेतृत्वसमक्ष पेश गर्ने जिम्मेवारी पाएको नेता गुरुङले बताए ।  उनका अनुसार संविधान संशोधनको बहसलाई संस्थागत ढंगले अघि बढाउन नेकपाले यो कदम चालेको हो । पार्टीले कार्यदलमार्फत तयार पार्ने प्रस्तावलाई आगामी राजनीतिक प्रक्रियामा अघि बढाउने रणनीति लिएको नेता गुरुङले बताए ।

भूमि मन्त्रालय मातहतका कार्यक्रम अब होटल तथा रिर्सोटमा गर्न नपाइने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालयभित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ ।  मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखाले सोमबार (आज)  सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग  तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धीमूलक बनाउन यस्तो निर्देशन दिएको हो ।  महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरू होटेल तथा रिसोर्टहरूमा सञ्चालन नगरी आफ्नै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने छ । 

कांग्रेसले संसदीय दलको नेता चुनेसँगै संवैधानिक परिषद्ले पायो पूर्णता, छिट्टै बैठक बस्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषदले पूर्णता पाएको छ । आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकले भीष्मराज आङदेम्बेलाई निर्विरोध रूपमा दलको नेता चयन गरेको हो । परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा मुख्य विपक्षी दलको नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहन्छन् । परिषदको अध्यक्षता प्रधानमन्त्रीले गर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेस हाल प्रतिनिधिसभामा ३८ सिटसहित प्रमुख विपक्षी दलको रूपमा रहेको छ । दलको नेता चयनसँगै अब संवैधानिक परिषदमा विपक्षी दलको प्रतिनिधित्व सुनिश्चित भएको छ । संवैधानिक परिषद स्रोतका अनुसार मुख्य विपक्षी दलको नेता चयन भएको आधिकारीक जानकारी आए लगत्तै प्रधानमन्त्री बालेन्द्र साह परिषद बैठक बोलाउने तयारीमा रहेका छन् ।  बैठकले सबैभन्दा पहिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको परिषद स्रोतले जानकारी दियो । हाल निर्वाचन आयोगसहितका संवैधानिक संस्थाहरू प्रमुखविहीन रहेका छन् ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, निर्वाचन आयोग,  वित्त आयोग लगायतका संवैधानिक संस्थाहरू प्रमुखविहीन रहेका छन् । संवैधानिक परिषद् देशका विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने महत्त्वपूर्ण निकाय हो । परिषद्ले पूर्णता नपाउँदा कतिपय नियुक्ति प्रक्रिया प्रभावित हुने गरेको थियो । अब भने परिषद्ले पूर्ण क्षमतामा काम गर्न सक्ने अपेक्षा गरिएको परिषद स्रोतले बतायो ।