सुशासन र समृद्धिको नागरिक आकांक्षा सम्बोधन गर्ने गरी बजेट आएको छ:  सञ्चारमन्त्री डा. तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले नतिजामुखी भएर दृढतापूर्वक काम गरिरहेको बताएका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम पालिका अधिवेशनका क्रममा तादी गाउँपालिका-५ मा आयोजित कार्यक्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार सदनमा प्रस्तुत गरिएको बजेट युवापुस्ताको सुशासन, समृद्धि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको उल्लेख गरे। उनले बजेटले मुलुकको अर्थतन्त्रलाई आगामी दिनमा कुन दिशातर्फ अघि बढाउने भन्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उल्लेख गर्दै सरकारका प्राथमिकता, राजस्व नीति तथा दीर्घकालीन विकास दृष्टिकोणसमेत स्पष्ट रूपमा समेटिएको बताए । सञ्चारमन्त्री डा. तिमिल्सिनाले नीतिगत सुधारमार्फत विकास प्रक्रियालाई प्रभावकारी, सन्तुलित र समावेशी बनाउने प्रयास भइरहेको बताउँदै समानुपातिक विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।  ‘विगतका वर्षहरूमा जस्तो छरिएको र उद्देश्यविहीन बजेट होइन, यसपटक राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर विकासको स्पष्ट प्रस्थानबिन्दु तय गर्नेगरी बजेट आएको छ,’ सञ्चारमन्त्री तिमिल्सिनाले भने । विकास र समृद्धिको नागरिक आकांक्षा पूरा गर्ने सोच र दृष्टिकोणअनुसार बजेट निर्माण गरिएको उल्लेख गर्दै उनले विकास र बजेटको लाभ सीमित शक्तिशाली समूहमा केन्द्रित हुने अवस्थाको अन्त्य गर्न सरकार प्रयासरत रहेको बताए ।  त्यस्तै, बजेट वक्तव्यले सबै विषय समेट्न नसक्ने भएकाले विस्तृत योजना तथा कार्यक्रमहरू रातो किताबमार्फत सार्वजनिक गरिने जानकारी पनि उनले दिए । जिल्लाका विभिन्न समस्या समाधानका लागि आफूले सक्रिय भएर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीयवासीलाई आफ्ना गुनासा र समस्या जुनसुकै माध्यमबाट भए पनि जानकारी गराउन आग्रह गरे। प्राप्त समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन पनि उनले दिए ।  त्यस्तै, सञ्चारमन्त्री डा. तिमिल्सिनाले वर्तमान बजेट सत्तारुढ दलले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यसहित ल्याइएको बताउनुहुँदै विकासमा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न सरकार केन्द्रित रहेको बताए । यो बजेटमार्फत सरकारले आगामी २० वर्षलाई लक्षित गरी योजनाबद्ध विकासको आधार तयार गरिएको पनि उनको भनाइ थियो । सोही कार्यक्रआ सञ्चारमन्त्री डा. तिमिल्सिनाले भ्रष्टाचार र बिचौलियातन्त्र अन्त्य गर्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको स्पष्ट पार्दै यस्ता विकृतिविरुद्ध कडा कदम चालिने बताए । ‘राजनीति जनताका लागि गरिन्छ। अब गलत काम गर्नेहरू अब स्वाभाविक रूपमा अप्ठ्यारोमा पर्छन्,’ उनले भने । सरकारका नीति, कार्यक्रम र योजनाको केन्द्रमा नागरिक रहेको उल्लेख गर्दै उनले विगतमा शासन व्यवस्था सीमित स्वार्थ समूहको प्रभावमा पर्दा युवाहरूमा असन्तुष्टि र विद्रोहको भावना बढेको धारणा राखे ।  नागरिकलाई केन्द्रमा राख्ने शासन प्रणाली प्रभावकारी रूपमा स्थापित हुन नसक्दा जनतामा निराशा बढेको र त्यसले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गराएको उनको भनाइ थियो ।  त्यसैगरी, बुधबार रास्वपाको शिवपुरी गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार, अनियमितता र बिचौलियातन्त्रको अन्त्य रहेको बताए ।  पालिका अधिवेशनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले गलत काम गर्नेलाई सरकारले नछोड्ने तथा अनियमितता भए सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरे । राजनीति देश र जनताको सेवा गर्ने माध्यम भएको उल्लेख गर्दै उनले कर्मचारी संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गरी प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको बताए । सञ्चार मन्त्री तिमिल्सिनाले आगामी आर्थिक वर्षको बजेट जनताको चाहना र मुलुकको आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएको उल्लेख गरे  । लगानी र उत्पादन वृद्धि, सेवा प्रवाहलाई सहज बनाउने तथा नागरिकलाई केन्द्रमा राखेर विकास अघि बढाउने लक्ष्य बजेटमा समेटिएको उनको भनाइ थियो । उनले दूरसञ्चार क्षेत्रमा देखिएका समस्याबारे सरकार जानकार रहेको उल्लेख गर्दै देशभरको मोबाइल नेटवर्क समस्या समाधान गरी डिजिटल विभाजन अन्त्य गर्ने योजना रहेको जानकारी दिए ।  त्यस्तै, नुवाकोटमा पर्यटन विकासका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै समावेशी विकासमार्फत समग्र देशको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । सरकार आफ्ना चुनावी प्रतिबद्धताबाट विचलित नभएको बताउँदै सञ्चार मन्त्री तिमिल्सिनाले प्रदेश र स्थानीय तहका सरकारसमेत थप उत्तरदायी र प्रभावकारी बन्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

मुलुक फेरि एकात्मक राज्य प्रणालीमा फर्किने चर्चा छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधानमार्फत प्राप्त उपलब्धिहरूको रक्षा र संस्थागत विकासका लागि पार्टीलाई थप सुदृढ र संगठित बनाउनुपर्नेमा जोड दिएका छन् । मुलुक पुनः एकात्मक राज्य प्रणालीतर्फ फर्कने र संसदीय व्यवस्थालाई कमजोर बनाउने खेल भइरहेको भन्दै उनले संविधानको कार्यान्वयनमा सबैको ऐक्यवद्धता आवश्यक रहेको बताए ।  महामन्त्री पौडेलले वर्तमान संविधानका उपलब्धिहरू समाप्त भएमा मुलुक फेरि पछाडि फर्कने खतरा औँल्याए । विगतमा आफ्नै नेतृत्वले पनि संविधानको मर्म र आशय बमोजिम पूर्ण रूपमा काम गर्न नसकेको स्वीकार गर्दै उनले अहिले भने संविधान नै समाप्त पार्ने गरी गतिविधिहरू भइरहेको दाबी गरे । समावेशिता, लोकतन्त्र र सबै समुदायको अस्तित्वलाई स्विकार्ने राजनीतिक शक्तिका रूपमा नेपाली काँग्रेसलाई थप मजबुत बनाउनुपर्ने उनको तर्क छ । काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै उनले लोकतन्त्रलाई बलियो बनाउन र मौलिकताको जगेर्ना गर्न काँग्रेस नै शक्तिशाली हुनुपर्ने बताए ।  पार्टीलाई अझ बढी संगठित र प्रभावकारी बनाउनका लागि सबै समुदायलाई जोडेर अघि बढ्नुपर्नेमा महामन्त्री पौडेलले जोड दिए ।    

भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू दिगो हुँदैनन्, छिट्टै ओरालो लाग्छन् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरेका हुन् ।  पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै नेता पुनले यस्ता शक्तिहरूमा विचार र नेतृत्वको अभाव रहेको टिप्पणी गरे । सांसद पुनले अहिलेको डिजिटल युगमा एजेण्डाहरू सामाजिक सञ्जालबाटै तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने बताए । नेता पुनले भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्रमा भौतिक उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गरे ।  उनले आफ्ना कार्यकर्ता र संगठनहरूलाई आजको प्रविधिमैत्री बनाउनु चुनौतीपूर्ण रहेको स्वीकार गर्दै भर्चुअल माध्यमबाट उठेका आन्दोलनहरू जति छिटो माथि पुग्छन्, उति नै छिटो पतन हुने तर्क गरे । नयाँ भनिएका दलका मन्त्रीहरू एक महिनाभित्रै पदमुक्त हुनाले उनीहरूको जग कमजोर रहेको पुष्टि गर्ने दाबी गरे । राजनीतिक विचार, त्याग, र बलिदानको जगबिना आएका शक्तिहरूले समाज सम्हाल्न नसक्ने पुनको ठहर छ । विगतको पञ्चायतकालीन संघर्ष र जनयुद्धको जस्तो ठोस संगठनात्मक आधार नभएका कारण हालको ‘भर्चुअल’ लहर स्थायी नहुनेमा उनले जोड दिए ।