निर्वाचन शान्तिपूर्ण र भयरहित हुने जियोकको निष्कर्ष

काठमाडौं । ‘जेनजी विद्रोह’पछिको विशेष र संवेदनशील अवस्थामा बिहीबार हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने देखिएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले बुधवार साँझसम्म विभिन्न जिल्लामा गरेको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदनअनुसार निर्वाचन आयोग, नेपाल सरकार र सुरक्षा निकायको तयारी विगतका निर्वाचनभन्दा निकै व्यवस्थित र चुस्त पाइएको हो ।  निर्वाचनको अघिल्लो दिनसम्म केही सामान्य घटनाबाहेक मतदानलाई नै असर पार्ने खालका कुनैपनि अप्रिय घटना भएका छैनन् । जियोकका महासचिव कृष्णमान प्रधानले निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सम्पन्न हुने कुरामा विश्वस्त हुन सकिने अवस्था रहेको जानकारी दिए ।  यसपटकको निर्वाचनमा सुरक्षा व्यवस्थापनलाई निकै कडा र प्रभावकारी बनाइएको छ । सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै चारवटै सुरक्षा निकायबीच उच्च समन्वय कायम गरिएको छ । कुनै पनि मतदान केन्द्रमा समस्या आएको खण्डमा ३० मिनेटभित्रै प्रहरी र सेना पुग्न सक्ने गरी ‘क्विक रेस्पोन्स’को व्यवस्था मिलाइएको उनले बताए । यसका साथै, मोबाइल गस्ती, स्ट्राइकिङ फोर्स, रिजभ्र्ड फोर्स र र्यापिड रेस्क्यु टिमको प्रभावकारी परिचालनले सुरक्षा व्यवस्था मजबुत देखिएको पर्यवेक्षणले जनाएको छ । मतदाता नामावली व्यवस्थापन, मतपत्र छपाइ तथा ढुवानी, मतदान केन्द्रको तयारी र मतदाता शिक्षा जस्ता पक्षमा पनि विगतको तुलनामा उल्लेख्य सुधार आएको छ ।  समग्र अवस्था शान्तिपूर्ण देखिए पनि मतदाताको मनोविज्ञानमा भने केही त्रास बाँकी नै रहेको प्रतिवेदनमा बताए । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार, जेलबाट बाहिरिएका केही कैदीबन्दी, पेशेवर आपराधिक समूहको चलखेल र सामाजिक सञ्जालको दुरुपयोगका कारण मतदातामा आंशिक रूपमा डरको अवस्था देखिएको जियोकले जनाएको छ ।  विगतका निर्वाचनको तुलनामा यसपटक सडकमा तुल, ब्यानर र दलीय झण्डाहरूको प्रयोगमा निकै कमी आएको छ । यद्यपि उम्मेदवारी दर्ताको दिन शक्ति प्रदर्शन गर्ने होडबाजी र प्रचारप्रसारका क्रममा ठूलो आवाजमा माइक बजाएर दलीय गीत गाउँदा मतदाताहरू असन्तुष्ट बनेको पाइएको छ । त्यस्तै, आँखा छल्दै राति–राति घरघरमा पम्पलेट बाँड्ने काम पनि पूर्ण रूपमा रोकिएको छैन । आचारसंहिता उल्लंघनका उजुरीमाथि कारबाही शुरु भएपनि ठोस नतिजा आउन सकेको छैन । विशेषगरी मौन अवधि शुरु भइसकेपछि धनुषामा एक जना उम्मेदवारको उम्मेदवारी खारेज गरिएको घटनालाई लिएर भने असन्तुष्टि देखिएको छ । उम्मेदवारी खारेज नै गर्नुपर्ने भए दर्ता भएकै समयमा गर्नुपर्ने आम बुझाइ रहेको प्रतिवेदनमा औंल्याइएको छ ।  प्रतिनिधि सभा निर्वाचन, २०८२ को पर्यवेक्षणका लागि जियोकले ३६ जिल्लाका २५० वटा पालिकामा जम्मा ४ सय जना तालिमप्राप्त पर्यवेक्षक परिचालन गरेको छ । संविधान र कानूनले समावेशीताको वकालत गरे पनि यसपटकको प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवारी निकै न्युन देखिएको भन्दै जियोकले चिन्ता व्यक्त गरेको छ ।     

प्रतिनिधिसभा निर्वाचन : ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगले तोकेका छ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उनले स्पष्ट पारे ।      भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन् । ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।   

निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔँ’

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई विशेष अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले छुट्टाछुट्टै सन्देश जारी गर्दै निर्वाचनलाई सफल बनाउन शतप्रतिशत मतदानको आह्वान गरेका हुन् ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यो निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे । गत भदौमा विकसित विषम परिस्थितिपछि हुन लागेको यो आकस्मिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे । निर्वाचन आयुक्त डा. तुलाधरले असल व्यक्तिको चयनका लागि मतदान अनिवार्य रहेको उल्लेख गर्दै समयमै मतदान केन्द्र पुग्न आग्रह गरिन् । निर्वाचनलाई मितव्ययी र विश्वासिलो बनाउन सबै पक्षको उत्तिकै दायित्व रहने बताउँदै उनले राजनीतिक दल, सुरक्षा निकाय र कर्मचारीहरूलाई सहयोगका लागि अपिल गरिन् । निर्वाचन आयुक्त जबराले मतदातालाई ‘अल्छी नगरी’ मतदान केन्द्रमा जान र मताधिकारको १०० प्रतिशत प्रयोग गर्न आग्रह गरे। निर्वाचनको समयमा झैझगडा र आरोप–प्रत्यारोप नगरी शान्तिपूर्ण वातावरण कायम राख्न उनले अनुरोध गरे। योग्य उम्मेदवार छनोट गरी देशलाई सही निकास दिन मतदान अपरिहार्य रहेको उनको भनाइ थियो । आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रतिनिधिमुलक शासन व्यवस्थाको आधारशिला नै निर्वाचन भएको भन्दै आयोगले कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित नभई आफ्नो विवेक प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ ।