प्रतिनिधिसभामा राष्ट्रियसभाबाट फिर्ता भएको विधेयक प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभाको आइतबार (आज) को दोस्रो बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको अनुमतिमा सभाका सचिव प्रकाश अधिकारीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)विधेयक २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ जानकारी र टेबुल गरेका हुन् । ती विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएकोमा सन्देशसहित फिर्ता आएका हुन् ।
संसद् बैठकमा विपक्षीको विरोध: ड्यास घेराउ, कुर्सीमा चढ्नेदेखि फ्याँक्नेसम्म
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन बहुमतले पारित भएपछि आक्रोशित बनेका विपक्षी दलका सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक रणभूमि जस्तै बनेको छ । बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले सभामुखको ड्यास नै घेराउ गरेर उग्र नाराबाजी गरिरहेका छन् । विपक्षी बेन्चमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका सांसदहरू वेल नाघेर सभामुखको ड्यास नजिकै पुगेका हुन् । नाराबाजी चरम उत्कर्षमा पुगेपछि ड्यासअगाडि ठुलो संख्यामा तैनाथ गरिएका मर्यादापालकहरूले सांसदहरूलाई रोक्न निकै संघर्ष गर्नुपरिरहेको छ । विरोध प्रदर्शन झन् उग्र बन्दै जाँदा कतिपय विपक्षी सांसदहरू संसद् भवनभित्रै कुर्सीमा उभिएका छन् भने केहीले कुर्सी नै फ्याँक्ने र तोडफोड गर्नेसम्मको हर्कत गरेका छन् । मर्यादापालक र सांसदहरूबीच कार्यकक्षमै ठेलमठेल र घम्साघम्सीको स्थिति सिर्जना भएको छ । आफ्नो विरोध र संशोधक मागलाई बेवास्ता गर्दै नियमावली पारित गराएको भन्दै आक्रोशित प्रतिपक्षीहरूले सभामुख डोलप्रसाद अर्याल लक्षित नाराबाजी गरिरहेका छन् । उनीहरूले ‘पक्षपाती सभामुख चाहिँदैन’, ‘सभामुख राजीनामा दे’, ‘संसदीय मर्यादा कायम गर’ भन्दै हल नै थर्कने गरी नारा लगाइरहेका छन् । पछिल्लो स्थितिले संसद्को वातावरण निकै तनावग्रस्त र अनियन्त्रित बनेको छ ।
विपक्षीको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा नियमावली बहुमतले पारित, बैठक पुनः स्थगित
काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी सांसदहरूको चर्को नाराबाजी र विरोधकै बीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ बहुमतले पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले उक्त प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले विपक्षी बेन्चबाट भइरहेको अवरोध र नाराबाजीकै बीच प्रक्रिया अगाडि बढाउँदै सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । यसअघि नियमावलीको मस्यौदामाथिको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच वेलमै घम्साघम्सी परेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । स्थगित बैठक पुनः सुरु भएलगत्तै विपक्षी सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका थिए । सभामुखले सभालाई सुचारु गर्न र आ-आफ्नो आसन ग्रहण गर्न पटक(पटक आग्रह गरे पनि विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका सांसदहरूले विरोध नरोकेपछि नियमावली पारितको प्रक्रियालाई अगाडि बढाइएको थियो । विपक्षी दलहरूले नियमावलीको मस्यौदामाथि पर्याप्त छलफल नभएको र यसलाई पुनः समितिमा लगेर टुङ्ग्याएर मात्र सदनमा ल्याउनुपर्ने माग राख्दै आएका थिए । विपक्षीको नाराबाजीकै बीच नियमावली बहुमतले पारित भएको घोषणा गरेलगत्तै सभामुख अर्यालले बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेका छन् ।