काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन बहुमतले पारित भएपछि आक्रोशित बनेका विपक्षी दलका सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा बैठक रणभूमि जस्तै बनेको छ ।
बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले सभामुखको ड्यास नै घेराउ गरेर उग्र नाराबाजी गरिरहेका छन् ।
विपक्षी बेन्चमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका सांसदहरू वेल नाघेर सभामुखको ड्यास नजिकै पुगेका हुन् ।
नाराबाजी चरम उत्कर्षमा पुगेपछि ड्यासअगाडि ठुलो संख्यामा तैनाथ गरिएका मर्यादापालकहरूले सांसदहरूलाई रोक्न निकै संघर्ष गर्नुपरिरहेको छ ।
विरोध प्रदर्शन झन् उग्र बन्दै जाँदा कतिपय विपक्षी सांसदहरू संसद् भवनभित्रै कुर्सीमा उभिएका छन् भने केहीले कुर्सी नै फ्याँक्ने र तोडफोड गर्नेसम्मको हर्कत गरेका छन् ।
मर्यादापालक र सांसदहरूबीच कार्यकक्षमै ठेलमठेल र घम्साघम्सीको स्थिति सिर्जना भएको छ ।
आफ्नो विरोध र संशोधक मागलाई बेवास्ता गर्दै नियमावली पारित गराएको भन्दै आक्रोशित प्रतिपक्षीहरूले सभामुख डोलप्रसाद अर्याल लक्षित नाराबाजी गरिरहेका छन् ।
उनीहरूले ‘पक्षपाती सभामुख चाहिँदैन’, ‘सभामुख राजीनामा दे’, ‘संसदीय मर्यादा कायम गर’ भन्दै हल नै थर्कने गरी नारा लगाइरहेका छन् । पछिल्लो स्थितिले संसद्को वातावरण निकै तनावग्रस्त र अनियन्त्रित बनेको छ ।