चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् ।  साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ।   परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।  मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

‘फाइल खोलिदिऊँ ?’ भन्ने अर्थमन्त्रीको अभिव्यक्तिमाथि सांसदहरूको प्रश्न

काठमाडौं । आर्थिक विधेयकमा करका दर हेरफेर तथा करसम्बन्धी सूचना चुहावटको विषयमा जारी बहसका बीच अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति सांसदहरूले प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा अर्थमन्त्री वाग्लेले विपक्षी सांसदहरूलाई लक्षित गर्दै, 'तपाईंहरूका काण्डबारे हामीलाई थाहा नभएको हो र ? तपाईंहरूका फाइल खोलिदिऊँ ?' भन्ने अभिव्यक्ति दिएका थिए । अर्थमन्त्रीको उक्त भनाइप्रति विभिन्न दलका सांसदहरूले आपत्ति जनाउँदै त्यसलाई असंसदीय, अनुपयुक्त तथा संसद्को गरिमाअनुकूल नभएको टिप्पणी गरेका छन् । नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्रीको प्रस्तुति सांसदहरूलाई हेप्ने र दबाब सिर्जना गर्ने शैलीको रहेको प्रतिक्रिया दिए । प्रतिनिधिसभामा बोल्दै उनले संसद्मा मन्त्रीले प्रयोग गरेको भाषा बार्गेनिङ शैलीको देखिएको बताए । 'संसद्मा त्यसरी बोलिरहँदा उहाँ बार्गेनिङको शैलीमा उत्रिएको देखियो,' पुनले भने । पुनले प्रश्न गरे, 'यत्रो बहुमतको सरकारले ‘मेरो विरुद्ध बोल्यौ भने तिम्रा फाइल खोलिदिन्छु’ भन्ने सन्देश दिन मिल्छ ? यदि कसैका फाइल छन् भने सुशासनका लागि ती खोल्नुपर्छ, कानुनी कारबाही अगाडि बढाउनुपर्छ, धम्कीको भाषा प्रयोग गर्नु हुँदैन ।' पुनले अर्थमन्त्री वाग्लेको सम्बन्धमा छानबिन गर्न संसदीय समितिको गठन आवश्यक रहेको बताए । श्रम, संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले पनि अर्थमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । उनले उक्त विषयमा प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूलाई लागेको आरोपको छानबिन गर्न संसदीय छानबिन आवश्यक रहेको बताए । 'सरकारका मन्त्रीको यस्तो अशिष्ट भाषा सुनेर सदन आफैँ लज्जित भयो,' राईले भने । उनका अनुसार यदि कसैविरुद्ध प्रमाण र फाइल छन् भने सरकारले साहसका साथ ती सार्वजनिक गर्नुपर्छ र भ्रष्टाचारमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गर्नुपर्छ । संसद्मा धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु उपयुक्त होइन । आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको आरोप र करसम्बन्धी सूचना चुहावटको विषयलाई लिएर संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप चलिरहेका बेला अर्थमन्त्रीको उक्त अभिव्यक्ति नयाँ विवादको विषय बनेको छ । विपक्षी दलहरूले यसलाई सरकारको असहिष्णु प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन् । करका दर निर्धारण प्रक्रियामा भएको भनिएको अनियमितता र सूचना चुहावटको विषयमा संसदीय छानबिनको मागसमेत उठिरहेका बेला अर्थमन्त्रीको अभिव्यक्तिले संसदभित्रको राजनीतिक बहसलाई थप तताउने देखिएको छ ।

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक, पाँच लाखभन्दा बढीले पाए एनसी आईडी

काठमाडौं । नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यहरूको अद्यावधिक प्रक्रिया सम्पन्न भएको छ । पार्टीले वैशाख १ गतेदेखि सुरु गरेको अद्यावधिक अभियान जेठ २८ गते मध्यरातमा समाप्त भएको कांग्रेसले जनाएको छ । कांग्रेसका प्रवक्ता देवराज चालीसेका अनुसार गत पुससम्म नवीकरण तथा नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूको विवरण सङ्कलन गरी अद्यावधिक गरिएको हो । अद्यावधिकका लागि देशभर ७ लाख ८२ हजार २०९ जना क्रियाशील सदस्य योग्य रहेका थिए । हालसम्म ५ लाख ३८ हजार ६२२ जना सदस्यले वडास्तरबाट आफ्नो विवरण अद्यावधिक गराई एनसी आईडी प्राप्त गरिसकेको प्रवक्ता चालीसेले जानकारी दिए । चालीसेका अनुसार १ लाख ४९ हजार ३०९ जनाले क्रियाशील सदस्यता अद्यावधिकका लागि आवेदन दिइसकेका भए पनि उनीहरूले एनसी आईडी प्राप्त गर्न बाँकी रहेको छ । कांग्रेस प्रवक्ता चालीसेका अनुसार एनसी आईडी प्राप्त नगरेका सदस्यहरूले आगामी असोजमा हुने पन्ध्रौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन पाउने छैनन् । पार्टी प्रवक्ता चालीसेका अनुसार केही हिमाली जिल्लाका सदस्य तथा विदेशस्थित जनसम्पर्क समिति अन्तर्गत रहेका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्यलाई थप व्यवस्थित र सहजीकरण गरिनेछ । भौगोलिक तथा प्राविधिक कारणले समयमै प्रक्रिया पूरा गर्न नसकेका क्षेत्रहरूको विवरण समेत समेट्ने तयारी गरिएको कांग्रेसले जनाएको छ । यसका लागि प्राप्त भएका तथ्याङ्कलाई फिल्टरेसन गर्ने कार्य भइरहेको चालीसेले जानकारी दिए । यसैबीच, नयाँ क्रियाशील सदस्यता प्राप्त गर्न इच्छुक व्यक्तिहरूका लागि अनलाइन आवेदन प्रणाली खुला गरिएको कांग्रेसले जनाएको छ । चालीसेका अनुसार नयाँ सदस्यताका लागि अनलाइनमार्फत निरन्तर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । क्रियाशील सदस्यहरूको डिजिटल अभिलेखीकरण, एनसी आईडी प्रणाली र अद्यावधिक अभियानलाई कांग्रेसले पन्ध्रौँ महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारीको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ ।