काठमाडौं । नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यहरूको अद्यावधिक प्रक्रिया सम्पन्न भएको छ । पार्टीले वैशाख १ गतेदेखि सुरु गरेको अद्यावधिक अभियान जेठ २८ गते मध्यरातमा समाप्त भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालीसेका अनुसार गत पुससम्म नवीकरण तथा नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूको विवरण सङ्कलन गरी अद्यावधिक गरिएको हो । अद्यावधिकका लागि देशभर ७ लाख ८२ हजार २०९ जना क्रियाशील सदस्य योग्य रहेका थिए ।
हालसम्म ५ लाख ३८ हजार ६२२ जना सदस्यले वडास्तरबाट आफ्नो विवरण अद्यावधिक गराई एनसी आईडी प्राप्त गरिसकेको प्रवक्ता चालीसेले जानकारी दिए । चालीसेका अनुसार १ लाख ४९ हजार ३०९ जनाले क्रियाशील सदस्यता अद्यावधिकका लागि आवेदन दिइसकेका भए पनि उनीहरूले एनसी आईडी प्राप्त गर्न बाँकी रहेको छ ।
कांग्रेस प्रवक्ता चालीसेका अनुसार एनसी आईडी प्राप्त नगरेका सदस्यहरूले आगामी असोजमा हुने पन्ध्रौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुन पाउने छैनन् ।
पार्टी प्रवक्ता चालीसेका अनुसार केही हिमाली जिल्लाका सदस्य तथा विदेशस्थित जनसम्पर्क समिति अन्तर्गत रहेका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्यलाई थप व्यवस्थित र सहजीकरण गरिनेछ । भौगोलिक तथा प्राविधिक कारणले समयमै प्रक्रिया पूरा गर्न नसकेका क्षेत्रहरूको विवरण समेत समेट्ने तयारी गरिएको कांग्रेसले जनाएको छ । यसका लागि प्राप्त भएका तथ्याङ्कलाई फिल्टरेसन गर्ने कार्य भइरहेको चालीसेले जानकारी दिए ।
यसैबीच, नयाँ क्रियाशील सदस्यता प्राप्त गर्न इच्छुक व्यक्तिहरूका लागि अनलाइन आवेदन प्रणाली खुला गरिएको कांग्रेसले जनाएको छ । चालीसेका अनुसार नयाँ सदस्यताका लागि अनलाइनमार्फत निरन्तर आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
क्रियाशील सदस्यहरूको डिजिटल अभिलेखीकरण, एनसी आईडी प्रणाली र अद्यावधिक अभियानलाई कांग्रेसले पन्ध्रौँ महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने तयारीको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ ।