गोकुल बास्कोटा भन्छन्- हार-जित सामान्य हो, तर यहाँ हार्नेले होस नगुमाउन्

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले यसपालिको निर्वाचन परिणामलाई लिएर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । उनले मत परिणामबारे हार्ने-जीत्ने दृष्टिकोणलाई सामान्य रूपमा लिनुपर्ने र निर्वाचनपछिको समीक्षालाई अत्यधिक महत्व नदिन सुझाव दिएका छन् । बास्कोटाले लेखेका छन्, ‘निर्वाचनपछिको समीक्षाको खास काम हुँदैन । तर भोलि के भन्ने प्रश्नको जवाफ खोज्न मद्दत भने गर्छ। मेरो विचारमा निर्वाचनपूर्वको समग्र तयारी मूल हो । निर्वाचन टोटल वार हो, व्यक्तिगत हार–जित सामान्य हुन् । एमालेले त्यो गुमायो । जितको भारीले जित्नेलाई नथिचोस्, हार्नेले होस नगुमाउन्, सबैको भलो होस् ।’  उनको सन्देशमा हार्ने-जीत्ने दुवै पक्षलाई संयम राख्न र लोकतान्त्रिक भलो सुनिश्चित गर्न जोड छ।

पर्सा-४ बाट रास्वपाका टेकबहादुर शाक्य विजयी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा पर्सा-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर शाक्य विजयी भएका छन् ।  निर्वाचन आयोगका अनुसार, रास्वपाका शाक्यले २८ हजार ६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एमाले)का जालिम मियाँ मंसुरीले १२ हजार १४५, जसपा नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७५८ र नेकपाका जयप्रकाश थारूले ३ हजार ११३ मत प्राप्त गरेका छन् । 

सिराहा-४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा सिराहा(४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तपेश्वर यादव निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका यादवले ३६ हजार २१० मत प्राप्त गरेका छन्।  उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अजयशंकर नायकले ७ हजार ९७२ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका जनमत पार्टीका विरेन्द्रप्रसाद महतोले ५ हजार ४१ मत पाएका छन्।  त्यस्तै, नेकपा (एमाले) का धर्मनाथप्रसाद साहले ४ हजार २२७, नेपाली कांग्रेसकी चन्द्रकला यादवले ४ हजार ६१ र जसपा नेपालका राजकिशोर यादवले ३ हजार ४८४ मत पाएका छन्।