रवि विरुद्धको संगठित अपराधको कसुर फिर्ता लिन काठमाडौं अदालतको पनि आदेश
काठमाडौं । कास्की र पर्सापछि काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश दिएको छ । शुक्रबार (आज) जिल्ला अदालत काठमाडौंका न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिने आदेश जारी गरेको हो । सुमन खनालसहितको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोग पत्र संशोधनका लागि निवेदन दायर गरेको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो । यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि रविमाथिको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिइसकेका थिए ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक शुक्रबार (आज) साँझ सवा ५ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी दिए । नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि उनले सुनाए । प्रतिवेदनका आधारमा विश्वकर्मामाथि कुटपिट भएको नदेखिएको गृहमन्त्री गुरुङले बताए । यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र नयाँ विषय आएपछि फेरि जानकारी गराइने उनको प्रतिबद्धता थियो । बैठकमा राष्ट्रियसभा सदस्य सुनारले जातका आधारमा विभेद भइरहेका विषयमा जिज्ञासा राखेका थिए । अन्तर जातीय विवाहकै कारण हत्या, कुटपिट भइरहेकोतर्फ उनले मन्त्री गुरुङको ध्यानाकर्षण गराए । टेबल, कुर्सी नभएको हिरासतमा सात फिटमाथि पुगेर कसरी आत्महत्या गरेको हुनसक्छ भनी सांसद सुनारले जिज्ञासा राखेका थिए । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।