रवि विरुद्धको संगठित अपराधको कसुर फिर्ता लिन काठमाडौं अदालतको पनि आदेश

काठमाडौं । कास्की र पर्सापछि काठमाडौं जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन आदेश दिएको छ ।

शुक्रबार (आज) जिल्ला अदालत काठमाडौंका न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिने आदेश जारी गरेको हो । 

सुमन खनालसहितको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोग पत्र संशोधनका लागि निवेदन दायर गरेको थियो । 

उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो ।

यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि रविमाथिको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिइसकेका थिए ।

Share News