रास्वपा र नेकपाबीच धेरै समानता छन् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच धेरै समानता रहेको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन् । दुवै राजनीतिक शक्तिले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गर्दै नयाँ वैकल्पिक शक्तिका रूपमा उदय भएको उनको भनाइ छ । उनले माओवादी केन्द्रले सशस्त्र जनयुद्ध र राजनीतिक आन्दोलनमार्फत पुरानो राजनीतिक संरचनामा परिवर्तनको एजेन्डा अघि सारेको स्मरण गर्दै रास्वपाले पनि परम्परागत दलप्रतिको जनअसन्तुष्टिलाई सम्बोधन गर्दै नयाँ राजनीतिक शक्तिका रूपमा स्थान बनाएको उल्लेख गरे । ‘माओवादी र रास्वपाबीच धेरै समानता छन्, दुवैले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गरेका छन्,’ उनले भने । पुनले लोकतन्त्रलाई सुदृढ बनाउन नयाँ र पुराना सबै राजनीतिक शक्तिबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा व्यक्त गरे। उनले जनताका आकांक्षा, सुशासन, पारदर्शिता र विकासका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्न रास्वपालाई सुझाव पनि दिए । रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएर शुभकामना मन्तव्य राखिरहेका छन् ।

‘बालेनले राजा ल्याउँछ’ भन्ने अपेक्षासहित पनि रास्वपालाई भोट गएको थियो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत प्रतिनिधिसभा निर्वाचनमा ‘बालेनले राजा ल्याउँछ’ भन्ने अपेक्षासहित पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मत गएको दाबी गरेका छन् । चितवनको भरतपुरमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले नेपालमा राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका मतदाताको एक हिस्सा राप्रपामा नआएर रास्वपालाई मतदान गरेको दाबी गरेका हुन् ।  उनले प्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले जनताको चाहना र अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीजीलाई थाहा छ, सभापतिलाई थाहा छ, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ उनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो, तर राप्रपालाई नदिएर ‘बालेनले राजा ल्याउँछ’ भनेर तपाईंहरूलाई भोट दिएका छन् । त्यसकारण तपाईंहरूको विशिष्ट जिम्मेवारी छ ।’ लिङ्देनले विगतका राजनीतिक नेतृत्वप्रति जनतामा असन्तुष्टि बढेकै कारण नयाँ शक्तिहरूलाई अवसर प्राप्त भएको उल्लेख गर्दै अहिलेको संविधान र राजनीतिक व्यवस्थामा पनि सुधार आवश्यक रहेको धारणा राखे।  संविधान संशोधन र राष्ट्रिय सहमतिबिना देश सही दिशामा अघि बढ्न नसक्ने उनको भनाइ थियो। ‘समस्या केवल नेताहरूमा मात्र होइन, संविधान र संवैधानिक व्यवस्थामा पनि छ,’ उनले भने, ‘संविधानमा सुधार नगरी र राष्ट्रिय सहमति कायम नगरी देशले सही लय समात्न सक्दैन ।’ राप्रपा अध्यक्ष लिङ्देनले रास्वपालाई निषेधको राजनीति नगर्न पनि सुझाव दिए। विगतमा भएका राजनीतिक विभेद र बहिष्कारको अभ्यासलाई दोहोर्याउने गल्ती नगर्न आग्रह गर्दै उनले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले निषेध र प्रतिशोधको राजनीतिले मुलुकलाई थप संकटतर्फ धकेल्ने चेतावनी दिँदै जनताको आशा र विश्वास जोगाउन जिम्मेवार राजनीतिक व्यवहार आवश्यक रहेको उल्लेख गरे । सम्बोधनका क्रममा लिङ्देनले रास्वपा र राप्रपा वैचारिक रूपमा फरक धारमा रहे पनि केही साझा मुद्दामा समान धारणा राख्ने दल भएको दाबी गरे । उनले जनताले पुराना राजनीतिक शक्तिप्रति देखाएको असन्तुष्टिलाई सकारात्मक परिवर्तनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

रास्वपाले महाधिवेशनका लागि गठन ग‍र्‍यो २२ सदस्यीय निर्वाचन संरचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी तथा लोकतान्त्रिक ढंगले सम्पन्न गर्न २२ सदस्यीय निर्वाचन संरचना गठन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार (आज) सूचना जारी गर्दै महाधिवेशनका लागि आवश्यक निर्वाचन संयन्त्र तयार गरिएको जानकारी दिएको हो ।  आयोगले १० सदस्यीय केन्द्रीय निर्वाचन आयोग तथा त्यसअन्तर्गत रहने १२ सदस्यीय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति–२०८३ गठन गरेको जनाएको छ । सार्वजनिक विवरणअनुसार केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र उपप्रमुखमा डा. राम गुरुङ रहेका छन् । आयोगका सदस्यहरूमा कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल सापकोटा, निश्चल सिंह भण्डारी, बीपी दाहाल, सौरेन्द्रबहादुर शाह र सुदनप्रसाद ज्ञवाली रहेका छन् । त्यसैगरी, महाधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न गठन गरिएको राष्ट्रिय महाधिवेशन निर्वाचन समितिमा वीरेन्द्र केएम, गणेशदत्त भट्ट, डा दिनेश महतो, आयुष्मा अर्याल, भूपेन्द्रराज बस्नेत, मिलन कार्की, सार्थक भट्टराई र रामकुमार खतिवडा सदस्यका रूपमा रहेका छन् ।  समितिलाई सहयोग गर्न शुभराज शिल्पकार, सेनु लामा तामाङ, राजेन्द्रकुमार श्रेष्ठ र मुकेश झालाई निर्वाचन कर्मचारीका रूपमा जिम्मेवारी दिइएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले महाधिवेशनलाई ऐतिहासिक, विश्वसनीय र लोकतान्त्रिक बनाउन निर्वाचन संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।  उनले उम्मेदवारी दर्तादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष ढंगले सञ्चालन गरिने उल्लेख गरे।