रास्वपा महाधिवेशनमा अमरेश सिंह किन अनुपस्थित भए ?

बालेनमाथि कटाक्षदेखि आफ्नै सरकारप्रति असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आइतबार (आज)देखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ । 

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न भरतपुर पुगिरहँदा रास्वपाका सांसद अमरेशकुमार सिंह भने समारोहमा अनुपस्थित भएका छन् ।

पार्टीको यति ठूलो आन्तरिक उत्सवमा उनको अनुपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

सांसद सिंहले हालै प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।संसदमा बजेटका प्राथमिकताहरूमाथि महत्त्वपूर्ण छलफल भइरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतका जिम्मेवार मन्त्रीहरू उपस्थित नभएको भन्दै उनले संसदमै कडा आपत्ति र आक्रोश व्यक्त गरेका थिए। 

सरकारको क्रमभंगताको नारा व्यावहारिक रूपमा नदेखिएको र विगतमा स्वतन्त्र रहँदा आफूले उठाउँदै आएका एजेन्डाहरूलाई पार्टीभित्र पर्याप्त स्थान नदिइएको भन्दै उनी रुष्ट बनेका हुन् ।

विगतमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को कट्टर समर्थक रहेका सिंहको दृष्टिकोणमा अचेल ठूलो परिवर्तन आएको छ । 

गत वर्ष जनकपुरधाममा भएको रास्वपाको चुनावी सभामा ‘बालेन प्रधानमन्त्री नभए​ आत्मदाह गर्छु’ सम्मको अभिव्यक्ति दिएका सिंहले अहिले भने बालेनको कार्यशैलीप्रति कडा कटाक्ष गरेका छन् । सरकार चलाउनु र महानगर चलाउनु एउटै नभएको टिप्पणी गर्दै उनले भनेका थिए, ‘सरकार चलाउनु महानगर चलाउनुजस्तो सजिलो काम होइन ।’

सांसद सिंहको असन्तुष्टि केन्द्रमा मात्र सीमित नभएर तल्लो तहसम्म पुगेको छ । विशेष गरी मधेस प्रदेशको जलेश्वर र सर्लाही क्षेत्रमा रास्वपाका स्थानीय कार्यकर्ता र अमरेश सिंहका समर्थकहरूबीच विवाद बढ्दै गएको छ।

स्थानीय स्तरमा सिंहविरुद्ध नाराबाजीसमेत हुन थालेपछि पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।

Share News