इप्पानको अध्यक्षमा गणेश कार्कीको उम्मेदवारी 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को अध्यक्ष पदमा गणेश कार्कीले उम्मेदवारी दिएका छन् । सोमबार इप्पानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन्  । यसैगरी अध्यक्ष पदमै किरण मल्लको पनि दाबी रहेको बताइएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी र महासचिवमा बलराम खतिवडाको उम्मेदवारी रहेको पनि कार्कीले जानकारी गराए । इप्पानको २१औं वार्षिक साधारणसभा मार्फत नयाँ कार्यसमितिको चयन हुने छ ।  सो सभा आगामी जेठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा हुँदै छ । उक्त सभाको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका छन् । साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्ने भएकोले निर्वाचन प्रकृयामा भाग लिनको लागि यहि २५ गते भित्र सदस्यता नविकरण र नयाँ सदस्यता लिन समेत इप्पानलेसबै उर्जा उद्यमीलाई अनुरोध गरेको छ । हालसम्म करिब १६५ आयोजनाहरुले नयाँ सदस्यता लिएका छन् भने करिब १५० पुराना सदस्यहरु नविकरण भएका छन् । सदस्यता लिने क्रमलाई सहज बनाउन कार्यसमितिको जेठ २१ गतेको बैठकबाट आयोजनाहरुले सदस्यता आवेदनसँगै सदस्यता शुल्क जम्मा गर्नसक्ने निर्णय गरेको इप्पानले जानकारी गराएको छ । सम्बन्धित समाचार साढे १० हजारभन्दा बढी मेगावाटका आयोजनाहरुको विद्युत् खरिदबिक्री तत्काल खुलाऔं : इप्पान

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, विकास दुगडको अध्यक्षतामा १३ सदस्यीय निम्न वमोजिमको नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको छ । उक्त संघमा निवर्तमान अध्यक्षमा सन्दिप कुमार अग्रवाल , उपाध्यक्षमा रतन लाल केडिया र अमित मोर, महासचिवमा निखिल चाचान र सदस्यहरुमा कमल कुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दिपक सापकोटा, राजिव गुप्ता, विरेन्द्र कुमार संघई, विपिन कावरा र मनोज तापरिया सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रभु इन्स्योरेन्सको सञ्चालकमा शान्ता गौतम

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शान्ता गौतम नियुक्त भएका छन् ।  गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कोषको तर्फबट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएका थिए । तर, कोषले खनाललाई फिर्ता पठाएर गौतमलाई सञ्चालकमा पठाएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गौतमलाई सञ्चालकमा नियुक्त गरेको हो ।