प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । विसं २०५० देखि पत्रकारितामा क्रियाशील आचार्य नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष थिए । उनी तत्कालीन जनादेश साप्ताहिकको सम्पादक, जनदिशा राष्ट्रिय दैनिकको प्रधानसम्पादक थिए। क्रान्तिकारी पत्रकारको नेतृत्व गर्दै आएका आचार्य प्रेस सेन्टर नेपालको संस्थापक सदस्य हुन् । माण्डवी गाउँपलिका प्यूठानमा जन्मनुभएका आचार्य क्रान्तिकारी पत्रकार सङ्घको पूर्वसंयोजक थिए । उनले कानुनमा स्नातक गरेका छन् ।

साल्ट ट्रेडिङकाे अध्यक्षमा प्रदिपलाल श्रेष्ठ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले श्रेष्टलाई अध्यक्षमा  नियुक्त गरेको हो । काठमाडौंमा जन्मिएका श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवम् साल्ट ट्रेडिङ समुहका प्रवर्तक स्वर्गिय इश्वरलाल श्रेष्ठ तथा पद्मावती श्रेष्ठका जेष्ठ सुपुत्र हुन् ।  

नबिल बैंकको डीजीएम बने गणेश अवस्थी

काठमाडौं । नबिल बैंकका गणेश प्रसाद अवस्थी नायव महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीजीएममा नियुक्त गरेको बैंकले जनाएको छ । यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक महाप्रबन्धक रहेका अवस्थी डीजीएममा नियुक्त भएका हुन् । विभिन्न वाणिज्य बैंकमा २ दशक बढी काम गरेको अनुभव सँगालेका अवस्थी विगत ३ वर्षदेखि सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल अवस्थीले सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन् । कुमारी बैंकको शाखा प्रमुख भएर काम गरेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइमएई बैंकमा १३ वर्ष बढी काम गरेपश्चात् नबिल बैंक प्रवेश गरेका हुन् । विभिन्न बैंकिङ्ग फोरमहरुमा सहभागी अवस्थी क्रेडिट व्यवस्थापन, व्यवसायीक क्षमता र ग्राहक सेवामा बढी केन्द्रित छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले हार्वड विजनेश स्कुलबाट डिस्रप्टिभ स्ट्राटिजी विषय समेत अध्ययन गरेका छन् ।