को बन्दैछ आइजिपी ?
काठमाडौं । नेपाल सरकारको निर्णयानुसार प्र्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दज्र्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पद (प्रहरी महानिरीक्षक) बन्नेछन् । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए । हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै छन् । काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आइजीपी बनाउनसक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन् । ‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई ।’ पछिल्लो समयमा गृहमन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ । सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आइजीपी बनाउनसक्ने देखिएको प्रहरी अधिकृतहरु बताउँछन् । सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो । प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजीपी बनाउनसक्ने उल्लेख छ । यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदैछन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन् । हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनःरिक्त हुन्छ । हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ । यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्काे आलोचनासमेत हुने गरेको थियो । पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन् । गृहमन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति भएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ । एआइजीमा पदोन्नति भएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वाेच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुन् । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन् । बज्राचार्यसँगै डिआइजीमा बढुवा भएकी मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि परेकाले उनी महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन् । रासस
सानिमा रिलायन्स लाइफको अध्यक्षमा केडिया नियुक्त, यस्तो बन्यो सञ्चालक समिति
काठमाडौं । दुई जीवन बीमा कम्पनी मर्जपश्चात बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्नुअघि बसेको सञ्चालक समितिको बैठकले नयाँ कम्पनीको अध्यक्षमा केडियालाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष केडिया साविकको रिलायन्स लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन् । अध्यक्ष केडियाले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् । त्यस्तै, सञ्चालकमा घनश्याम थापा, भरत कुमार तोडी, सुवर्ण दास श्रेष्ठ, केशव राज केसी, परिक्षित खेम्का र सरिता भट्ट अधिकारी नियुक्त भएका छन् ।
सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त हुने भएका छन् । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डेलाई नियुक्त गर्न सिफारिस गरेका हुन् । दुई कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओमा नियुक्त गर्ने सिफारिस गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको कम्पनी श्रोतले जानकारी गराएको छ । सम्भवतः प्राधिकरणले भोलिनै स्वीकृति दिँदै छ । प्राधिकरणले स्वीकृति दिएलगत्तै पाण्डेले मर्जपछि बन्ने नयाँ कम्पनीको सीईओको जिम्मेवारी सम्हाल्ने छन् । मर्जर प्रकृयामा रहेका दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट भोलि अर्थात चैत ९ गतेदेखि एकीकृत कारोबार गर्दै छन् । हाल कुनै इन्स्योरेन्स कम्पनीमा आवद्ध नरहेका पाण्डेसँग बीमा क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । २०७३ मा इन्स्योरेन्सको सीईओमा नियुक्त भएका पाण्डेले करिब ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाले । पाण्डेले सूर्या लाइफको सीईओ हुनुभन्दा करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । पाण्डेले राष्ट्र बैंकभित्र कार्य सम्पादन क्षमता राम्रो भएको प्रशासकको छवि बनाएका छन् । जीवन बीमक संघका अध्यक्ष समेत भइसकेका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् ।