बतास एमएडब्लुको सीइओमा दीपक अग्रवाल नियुक्त
काठमाडौं । बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपक अग्रवाल नियुक्त भएका छन् । अग्रवाललाई कम्पनीले औपचारिक रूपमा असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो । अग्रवालले अटोमोबाइल तथा कर्पोरेट क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाइ सकेका छन् । यस अघि अग्रवाल टीभीएसको आधिकारिक बिक्रेता शंकर समूहको जगदम्बा मोटर्सको सीइओ थिए । अग्रवाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्य समेत हुन् । अग्रवालले बतास एमएडब्लुलाई नम्बरवान स्थानमा पुर्याउन आफ्नो महत्त्वपूर्ण भूमिका रहने बताए । भोल्भो आइसरका ट्रक तथा बसहरू, गाेद्रेजका उत्पादन लगायत धेरै वस्तुहरु तथा सेवाहरु बतासले नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ ।
नेपाल बैंकको सञ्चालकमा काफ्ले नियुक्त, लिए शपथ
काठमाडौं । नेपाल बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्ले नियुक्त भएका छन् । उनी अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि उक्त स्थानमा धनीराम शर्मा थिए । साथै, नवनियुक्त सञ्चालक काफ्लेले आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । उनले गत असार ६ गते नै बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवालीबाट शपथ लिएका हुन् ।
नागरिक लगानी कोषको सञ्चालकमा खत्री
काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णय अनुसार उनी अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा कोष सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् । खत्री अर्थमन्त्रालयका सहसचिव हुन् ।