प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर, को हुन् उनी ?
काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक सिमितको बुधबार बसेको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । कामु सीईओ मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्काे व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव सँगालेका कामु सीईओ मानन्धर चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । उनले भारतबाट सीए गरेका हुन् । उनी प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत छन । त्यसअघि उनले विश्व बैंकले लागू गरेको राष्ट्रिय वाणिज्य बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रममा काम गरेका थिए । काठमाडौंको बालाजु घर भएका मानन्धर कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल ब्यक्ति हुन् । बैंक स्रोतका अनुसार हाललाई कामु सीईओको जिम्मेवारी दिएको भएपनि मानन्धरलाई नै सीईओको पूर्ण जिम्मेवारी दिने तयारी छ । ५५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका नारायणदास मानन्धरको कार्यकाल गत साउन १६ गतेदेखि सकिएको हो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा सिजापति चयन, राष्ट्र बैंक समक्ष लिए शपथ
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रबिन सिजापति चयन भएका छन् । लघुवित्तको नयाँ गठन भएको सञ्चालक समितिले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । साथै, अध्यक्ष सिजापतिले नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुणाकर भट्टसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । समिट लघवित्तलाई एक्विजिशन गरेपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्तको नयाँ सञ्चालक समिति गठन गरिएको थियो । लघुवित्तको नयाँ गठन भएको सञ्चालकमा रबिन सिजापति, केशब प्रसाद आचार्य, क्षितिज खड्का, नरेन्द्र सतकुटी, तिर्थराज ढकाल र प्रजित्त कुमार रेग्मी चयन भएका हुन् । सञ्चालक समितिको बैठकले सिजापतिलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष सिजापति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिनिधित्व गर्छन् । उनी बैंकमा सिनियर डेपुटी जेनेरल म्यानेजर पदमा कार्यरत छन् । यसअसघ लघुवित्तको अध्यक्षको जिम्मेजारी आचार्यले सम्हाल्दै आएका थिए । तर, उनी काम विशेषले विदेशमा रहेकाले नयाँ अध्यक्ष चयन गरिएको लघुवित्तले बताएको छ । गत असार ३० गतेदेखि समीट लघुवित्तलाई गाभेर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेको हो । नेशनल माइक्रोफाइनान्सले ७३ रुपैयाँमा समिट लघुवित्तलाई गाभेको हो । मर्जरपश्चात् लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राम बहादुर यादव चयन भएका हुन् । सीईओ यादव नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्ष समेत हुन् ।
लक्ष्मी सनराइज बैंकका अध्यक्ष नेपालले लिए सपथ
काठमाडौं । लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सपथ लिएका छन् । अध्यक्ष नेपालले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् बनेको लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल नियुक्त भएका हुन् । उनी साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए । उनी नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै बैंकको अध्यक्ष बनेका हुन् । नेपाल नागरिक लगानी कोषका कार्यकारी निर्देशक हुन् । कोषको लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेको छ । मोरङको बुढीगंगा गाउँपालिका स्थायी घर भएका अध्यक्ष नेपालले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । साथै, उनले पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिल पनि गरेका छन् । नेपाल राष्ट्र बैंकबाट ३० वर्षे सेवापछि निर्देशक पदबाट अवकाश पाएका नेपालसँग बैंक अन्तर्गतको नियमन, सुपरीवेक्षण, विनिमय विभागका साथै बैंकका क्षेत्रीय कार्यालयहरुमा समेत काम गरेको अनुभव छ ।