कर्पाेरेट डेभलपमेन्ट बैंकका सीईओ जोशीले दिए राजीनामा, पोख्रेललाई कामुको जिम्मेवारी

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्रिलोक ध्वज जोशीले राजीनामा दिएका छन् । बैंकका सीईओ जोशीले दिएको राजीनामा सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले स्वीकृत समेत गरेको छ । साथै, बैंकको सञ्चालक समितिले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि कायमुकायम सीईओको जिम्मेवारी बिपिन राज पोख्रेललाई दिएको छ । पोख्रेल नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।  

पपुवा न्यूगिनीको टिसा बैंकको चिफ रिस्क अफिसरमा सचिनजङ्ग रायमाझी

काठमाडौं । नेपाली बैंकर सचिनजङ्ग रायमाझी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडमा नियुक्त भएका छन् । रायमाझी टिसा बैंकको चिफ रिस्क अफिसर पदमा नियुक्त भएका हुन् । उनी टिसा बैंकमा तीन वर्षका लागि नियुक्त भएका हुन् । यसअघि रायमाझी हिमालयन बैंकको असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसर थिए । साविक सिभिल बैंक छोडेका सुनिल पोखरेल सो बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा काम गरिरहेका छन् । सीईओ पोखरेलले नै रायमाझीलाई टिसा बैंकमा बोलाएका हुन् । साविक सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका रायमाझीसँग साढे दुई दशकको बैंकिङ अनुभव छ । उनले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका थिए । साथै, प्रभु बैंकको नायव महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् ।

नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंकको सीईओ नियुक्त

  काठमाडौं । पूर्व नेपाली बैंकर भेषराज खतिवडा म्यानमार सिटिजन्स बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । शुक्रबार म्यानमार सिटिजन्स बैंक लिमिटेडले खतिवडालाइ प्रमुख कार्यकारीको जिम्मेवारीमा नियुक्त गरेको हो । यसअघि खतिवडा उक्त बैंकको चिफ अपरेटिङ अफिसर थिए । म्यानमारको बैंकमा जानुअघि खतिवडाले एनआईसी एसिया बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए भने उनसँग प्रभु बैंकमा चिफ अपरेटिङ अफिसरको काम गरेको अनुभव थियो । उनले प्रभु बैंकमा नै प्रमुख कर्जा अधिकृतको जिम्मेवारी पनि समालेका थिए । उनले नविल बैंकबाट बैंकिङ क्षेत्र करिअर शुरू गरेका थिए ।