प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई तथा कलाकार गजुरेलले हस्ताक्षर गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलज्यूको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने इन्स्योरेन्सले जनाएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले लिए शपथ
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष श्रेष्ठलाई सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन् । उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गम र पिछडिएका क्षेत्रमा अगाडि बढाउनमा जोड दिन कम्पनीका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारीहरुको उपस्थित थियो ।
एनटीसीको सञ्चालकमा कोमलबहादुर खत्री नियुक्त
काठमाडौं । नेपाल टेलिकम (एनटीसी) को सञ्चालकमा कोमलबहादुर खत्री नियुक्त भएका छन् । गत चैत ३ गतेको सचिवस्तर निर्णय अनुसार उनी सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् । उनले गत चैत १५ गते पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । खत्री कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा एनटीसीको सञ्चालक समितिको सदस्य भएका हुन् । यसअघि उक्त पदमा कोशलचन्द्र सुवेदी थिए ।