रमेश शर्मा बने नेपालको लागि किर्गिजस्तानको अवैतनिक महावाणिज्यदूत

काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मा नेपालको लागि किर्गिजस्तानका अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुन् । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुन् । नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताए । निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गरेका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशिल हुन् ।

सलिकोको अध्यक्षमा पुनः मुल, सञ्चालकमा ५ जना निर्वाचित

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को अध्यक्षमा पुनः मनोहर दास मुल नियुक्त भएका छन् । चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले मुललाई पुनः अध्यक्ष पदमा नियुक्त गरेको हो । सोहि दिन सम्पन्न कम्पनीको २७औं वार्षिक साधारण सभाले मूलसहित ६ जनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक सेयरधनीको समूह क बाट बैदेशिक लगानीकर्ता सिलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवद्र्धना मनोनित भएका छन् । त्यस्तै, लोकमान्य गोल्छा, र सिद्धार्थमणि राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, कम्पनीको सर्वसाधारण सेयरधनीकोतर्फबाट अरुणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः डा.पन्त

काठमाडौं । नेपाल नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । भरतपुरको चितवनमा सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले प्रा.डा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आतिथ्यतामा चैत्र २३ र २४ गते चलेको अधिवेशनले प्रा.डा. पन्तको नेतृत्वमा आगामी ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको विधान बमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये १ जना अध्यक्ष, १२ जना खुला सदस्य र २ जना महिला सदस्य गरी १५ सदस्य अधिवेशन मार्फत निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, दिव्य प्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा. नन्द श्रेष्ठ, नर वहादुर रोकाया, पद्म नारायण चौधरी, बिष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरत बहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्र्मा, मन्जु कण्डेल र प्रा.डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै संघका सातवटै प्रदेशका प्रदेश सभापतिहरु केन्द्रिय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्था बमोजिम कोशी प्रदेश सभापति श्याम सुन्दर उदास, मधेश प्रदेश सभापति रबिन्द्रलाल चौधरी, वाग्मती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा.डा.दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्र बहादुर सिंह केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा चयन हुनु भएको छ भने बाँकी सदस्यहरु केन्द्रीय समितीले मनोनित गर्नेछ । संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरु संचालनमा छन् । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । त्यस्तै, सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन पारित गर्नुको साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरिएको छ ।