विकासन्यूजको सम्पादकमा रोकाया नियुक्त
काठमाडौं । विकास मिडियाप्रालि द्वारा सञ्चालित विकासन्यूज डटकमको सम्पादकमा सन्तोष रोकाया नियुक्त भएका छन् । विकास मिडिया प्रालिको आइतबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सम्पादकमा नियुक्त गरेको हो । एक दशकदेखि पत्रकारिता गर्दै आएका रोकाया ६ वर्षदेखि विकासन्यूजमा कार्यरत छन् । पछिल्लो समय उनी सह-सम्पादकको भूमिकामा थिए । रोकाया त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एफफिल-पीएचडी अध्ययनरत छन् । नवनियुक्त सम्पादक रोकायालाई प्रधान सम्पादक रामकृष्ण पौडेलले स्वागत गरे । उनले रोकाया नेतृत्वको टीमले विकासन्यूजलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । सम्पादक रोकायाले विकासन्यूज टिमलाई रचनात्मक ढंगबाट अगाडि बढाएर संस्थाको गरिमालाई थप ओजिलो बनाउने प्रयास रहने धारणा राखे । कैलालीको धनगढीबाट सञ्चालित फूलबारी खबरबाट पत्रकारिता सुरु गरेका रोकायाले यसअघि माउन्टेन टेलिभिजन, बिजनेस प्लस टेलिभिजन, रेडियो केएमसी र आजको न्यूज डटकमलगायत आधा दर्जन सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
सेन्ट्रल फाईनान्सको उप-महाप्रबन्धकमा नारायण प्रसाद भट्टराई नियुक्त
काठमाडौं । सेन्ट्रल फाईनान्सको उप-महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मा नारायण प्रसाद भट्टराई नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थामा २७ वर्ष समय बिताएका अनुभवी बैंकर भट्टराईले नेपाल बंगलादेश बैंक लिमिटेडबाट बैंकिङ पेशा सुरु गरेका हुन् भने उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंक हुँदै कुमारी बैंकसम्म आईपुग्दा ती संस्थाहरुमा विभिन्न पद तथा क्षेत्रहरुमा रहेर कार्य गरेका छन् । नव नियुक्त उप–महाप्रबन्धकभट्टराईले २०८१ मंसिर २ गते आइतबारबाट आफ्नो कार्यभार सम्हाल्नेछन् ।
सूर्यज्योति लाइफको सञ्चालकमा अग्रवाल
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । कार्तिक २७ गते बसेको संस्था सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । ‘यस कम्पनीका संस्थापक सेयरधनी पुजा इन्टरनेशनल नेपालका प्रतिनिधी आशिष कुमार अग्रवाललाई कार्तिक २७ गते देखि लागु हुने गरी सञ्चालकमा नियुक्त गरेका छौं’, नेप्सेको सूचनामा उल्लेख गरिएको छ ।