दिनेश आमात्यले पाए आइएमई लाइफको कामु सीईओको जिम्मेवारी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश बहादुर आमात्य नियुक्त भएका छन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आमात्यलाई कामु सीईओको जिम्मेवारी दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए । एमबीएसम्म अध्ययन गरेका आमात्यले सन् १९९२ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा करियर सुरु गरेका हुन् । उनले नेशनल लाइफमा सन् २००७ सम्म विभिन्न विभागमा अधिकृत पदमा कार्यरत रहेर काम गरेका थिए । सुर्या लाइफ इन्स्योरेन्समा सन् २००८ देखि सन् २०१७ सम्म सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका आमात्य सन् २०१७ देखि हालसम्म आइएमई लाइफमा आवद्ध छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालको पदावधि सकिएपछि बाहिरिएका थिए । २०७७ मा कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका फुयाँलको गत शुक्रबार चार वर्षे कार्यकाल सकिएपछि बाहिरिएका हुन् ।
बाबुको राजीनामा स्वीकृतसँगै छोरो अध्यक्षमा नियुक्त, पब्लिक कम्पनी प्राइभेट जस्तै
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्ष बनाएको हो । यसअघि कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ थिए । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका थिए । प्रेमबहादुर श्रेष्ठ ध्रुवकुमार श्रेष्ठका बाबु हुन् । सञ्चालक समितिको एउटै बैठकले बाबुको राजीनामा स्वीकृत गरेर छोरालाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । नेपालमा पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीको शैलीमा सञ्चालन हुने गरेको र यसले कम्पनीको संस्थागत सुशासन कमजोर हुने गरेको भन्दै यस्तो अभ्यासको आलोचना हुने गरेको छ । तर, लगानीका आधारमा सञ्चालक समिति र अध्यक्ष नियुक्त हुने भएकाले जसको बढी लगानी छ उही कम्पनीको निणर्यक पदमा रहने अभ्यासलाई सामान्यरूपमा लिने अभ्यास पनि रहेको छ ।
कुमारी बैंकको डीसीईओमा सुधीरनाथ पाण्डे नियुक्त
काठमाडौं । कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो । उनले बुधबारदेखि बैंकमा डीसीईओ पदको कार्यभार सम्हालेका छन् । पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ । २०४६ सालबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेलेसँग विभिन्न बैंकहरूमा काम गरेको अनुभव छ । उनी ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट बाहिरिएका थिए । कुमारी बैंकमा रामचन्द्र खनालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएपछि उक्त बैंकमा डीसीईओ पद खाली थियाे ।