नेपाल एसबिआई मर्चेण्ट बैकिङको अध्यक्षमा विकास आनन्द नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको ६६ औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रुपमा नियुक्ति/मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरेको हो । सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्षपदमा सर्वसम्मतिबाट चयन गरेको छ । विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय सञ्चालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानूनलगायतका मामिला हेर्छन् । विकास आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात विकास आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडको सञ्चालकहरु राजेश कुमार पांडा, छपि राजपन्त,स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

सैंजु एनसीएचएलको डेप्युटी सीईओमा नियुक्त

काठमाडौं । नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को डेप्युटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका हुन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ । उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाइमा लान महत्त्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वस्त जनाएको छ ।

मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं, ३३ वर्षको बैंकिङ अनुभव

  काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको कम्पनीका वरिष्ठ प्रवन्धक विशाल श्रेष्ठले जानकारी दिए । यसअघि  बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् । नबिल बैंकबाट करिअर सुरु गरेका चापागाईंसँग ३३ वर्षको बैंकिङ अनुभव छ ।  हाल उनी प्राइम कमर्शियल बैंकका कार्यवाहक उपमहाप्रबन्धक हुन् ।