हिमालयन लघुवित्तको अध्यक्षमा नकर्मी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षयमा विजय मान नकर्मी नियुक्त भएका छन् । कार्तिक २६ गते बसेको संस्था सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा नकर्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि वित्तीय संस्थामा अध्यक्ष रहिसकेका उनले हिमालयन बैंकबाट बैंकिङ सेवा सुरु गरी करिब ३२ वर्ष देखि बैंकिङ क्षेत्रमा योगदान गर्दै हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । ‘यस वित्तीय संस्थाको कार्तिक २६ गते सोमबार बसेको सञ्चालक समितिको २३५ औं बैठकले विजय मान नकर्मीलाई सञ्चालक समितिको अध्यक्षको पदमा सर्वसम्मत रुपमा चयन गरेको हो,’ नेप्सेको मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।
अपि पावरको सञ्चालकमा खड्का नियुक्त
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा मिलन खड्का नियुक्त भएका छन् । कार्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । ‘कार्तिक २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको सञ्चालक पदमा मिलन खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो’, नेप्सेमा उल्लेख गरिएको छ ।
राष्ट्रपतिले न्यायाधीशमा निरौला र पाण्डेयको गरे नियुक्ति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्ति गरेका छन् । राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यही कात्तिक २३ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित निरौला र पाण्डेयको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । नेपालको संविधान धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले दुई न्यायाधीशको नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।