एनएचआरसीको अध्यक्षमा डा. नारायण विक्रम नियुक्त
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा डा. नारायण विक्रम थापा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अगामी चार वर्षका लागि डा. थापालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । यसअघिका अध्यक्ष डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि मन्त्री पौडेलले थापालाई नियुक्त गरेका हुन् । डा. थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष समेत भएका थिए ।
नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकले एक सूचना जारी गर्दै गत जेठ १३ गतेदेखि लागू हुने गरी आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएको हो । नयाँ भूमिकासहित अब आनन्दले नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृत दुवै जिम्मेवारी सम्हाल्नेछन् । बैंकले विकास आनन्दको नेतृत्वमा बैंकिङ सेवा प्रवाह अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू विस्तार गरेको छ ।
विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईं पुनः नियुक्त
काठमाडौं । सरकारले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंको नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । हुमागाईं यसअघि पनि सोही बोर्डको चार वर्षसम्म नेतृत्व सम्हाली सकेका व्यक्ति हुन् ।