सिप्रदीको सिइओमा राजनबाबु श्रेष्ठ नियुक्त

काठमाडौं, १२ भदौ । टाटा मोटर्सको नेपाली आधिकारीक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा राजनबाबु श्रेष्ठ नियुक्त भएका छन् । यस अघि उनी कम्पनीकै प्रमुख संचालन अधिकृत(सीओओ) को जिम्मेवारीमा थिए । सिप्रदीमा टेक्निकल मेनेजरका रुपमा सन् १९९९ मा नियुक्त भएका श्रेष्ठले १७ बर्षपछि कम्पनीको फस्ट म्यानको जिम्मेवारी पाएका हुन् । उनले डेपुटी जनरल म्यानेजर, जनरल म्यानेजर, भाइस प्रेसिडेन्ट, सीओओको जिम्मेवारी पुरा गरिसकेका थिए । हाल सिप्रदी ट्रेडिङ अन्तर्गत सिप्रदी इनर्जी, सिप्रदी अटोपार्ट्स, सिप्रदी अर्थमुभर्स, सिप्रदी एस्योर्ड र सिप्रदी हायर पर्चेज लगायतका सहायक कम्पनी रहेका छन् ।

गण्डकी विकास बैंकको सीईओमा शर्मा नियुक्त, पुँजी वृद्धि पहिलो प्राथमिकता

काठमाडौं, १ भदौ । गण्डकी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा छविन्द्रनाथ शर्मा नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी विगत तीन वर्षदेखि कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । विगत १४ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत शर्मा २०६५ सालदेखि गण्डकी विकास बैंकमा कार्यरत छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । पोखरामा केन्द्रीय कार्यलय रहेको यो बैंक १० जिल्ला कार्यक्षेत्र भएको बैंकको हो । यो बैंकले गत असार मसान्तसम्ममा ५ अर्ब ५५ करोड निक्षेप र ४ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष बैंकले १३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । १० जिल्ला कार्यक्षेत्र भएको बैंकको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ हुनु पर्ने भएकोले बैंकको अहिलेको प्राथमिकता पुँजी वृद्धि भएको शर्माले बताए । हाल यस बैंकको चुक्ता पुँजी ५३ करोड ८५ लाख रुपैयाँ छ । ‘समय धेरै छैन, मर्ज गरेर पुँजी वृद्धि गर्ने विकल्पमा छलफल चलाईरहेका छौं’ शर्माले विकासन्युजसँग भने ।

एनबीआईको अध्यक्षमा अजय श्रेष्ठ चयन

काठमाडौं, २६ साउन । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा अजय श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैंठकले बैंक अफ काठमाण्डौ लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त पदमा चयन गरेको हो । साथै, ईन्ष्टिच्युटको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालकको पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । उक्त बैठकले सञ्चालक समितिका निवर्तमान अध्यक्ष शोभनदेव पन्त र निवर्तमान सञ्चालक डा. बिनोद आत्रेयलाई संस्थाप्रति उनीहरुको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेको छ । नवनियुक्त अध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थाको उद्देश्य अनुरुप बैंक तथा वित्तीय संस्थाहरुको लागि बदलिँदो परिवेश अनुरुपको समय सापेक्ष कार्यक्रमहरु आयोजना गर्दै संस्थाले लिएको लक्ष्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।