यतीको ब्राण्ड एम्बेसडरमा महर्जन नियुक्त

काठमाडौं, ६ असोज । यती डेभलपमेण्ट बैंकले २ बर्षको लागी ब्राण्ड एम्बेसडरमा महेश्वर महर्जनलाई नियुक्त गरेको छ । खेलाडीको उच्च कदर गर्दै खेलाडीको मनोबल बृद्धि गर्ने उद्देश्यले बैंकले महर्जनलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्ती गरेको हो । महर्जनले शरीरिक सुगठनको ५० औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक प्राप्त गरेका थिए । भुटानमा भएको प्रतियोगिता अन्तर्गत ७५ के.जी. तौल समुहमा महर्जनले १० देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै प्रथम स्थान हांसिल गरेका थिए ।

घिसिङको नियुक्ती खारेजीको माग गर्दै प्राधिकरणका कर्मचारीहरुको सर्वोच्चमा रिट

काठमाडौं, ५ असोज । सरकारले विधि र प्रक्रिया लत्याउँदै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ती गरेको भन्दै सो नियुक्ती खारेज गर्न माग गर्दै सर्वोेच्च अदालतमा रिट दायर भएको छ । प्राधिकरणका ४ जना उप–कार्यकारी निर्देशकहरुले घिसिङको नियुक्ती खारेजीका लागि अन्तरिम आदेशको माग गर्दै मंगलबार दिउसो सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकारले उप–कार्यकारी निर्देशक बन्नेसमेत योग्यता नभएको व्ययिक्तलाई विधि र प्रक्रिया लत्याउँदै कार्यकारी निर्देशकमा नियुक्ती गरेपछि आफुहरु अदालत जानु परेको उत्पादन निर्देशनालयका प्रमुख शेरसिंह भाटलेलाई जानकारी दिए । प्राधिकरणका उत्पादन निर्देशनालयका प्रमुख शेरसिंह भाट, तनहुँ हाइड्रोपावरका प्रमुख सुनिल ढुंगेल, प्रसारण निर्देशनालयका प्रमुख कनैया मानन्धर र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख सुरेन्द्रराज भण्डारीले संयुक्तरुपमा रिट दायर गरेका हुन् । गत भदौ २९ गते दिउसो ३ बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ती गरेपछि उप–कार्यकारी निर्देशकहरु असन्तुष्टि जनाउँदै विदा बसेका थिए । उनीहरुले घिसिङले गत आइतबार बोलाइको कर्मचारी बैठक पनि बहिस्कार गरेका थिए । ‘कर्मचारी सेवा विनियमावलीमा उप कार्यकारी निर्देशक हुन नै योग्यता नपुगेको व्यक्ति कार्यकारी भएर आउँदा हामीलाई अपमानित फिल भयो,’ भाटले भने– ‘त्यतिमात्र होइन, खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्नुपर्ने कार्यकारी निर्देशक विधि र प्रक्रिया मिचेर मन्त्रीको पकेटबाट नियुक्ती गरिएको छ ।’ प्राधिकरणमा ८ जना उप–कार्यकारी निर्देशक रहने व्यवस्था छ । जसमध्ये ५ जना फुल उप–कार्यकारी निर्देशक कार्यरत छन् भने ३ जना कायम मुकायम उप–कार्यकारी निर्देशक छन् । फुल उप–कार्यकारी निर्देशकमध्ये वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख गोपालबाबु भट्टराई मात्रै रिट दायर गर्नमा संलग्न भएनन् । कायम मुकायम उप कार्यकारी निर्देशक, शान्तिलक्ष्मी शाक्य, लेखनाथ कोइराला, जगदिश्वरमान सिंह र राजिब शर्माले भने घिसिङ नियुक्तीमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त, मर्जपछिकाे व्यवस्थापन मुख्य चुनाैति

काठमाडौं, ४ असोज । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल नियुक्त भएको छन् । भदौ ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी अर्याललाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको स्राेतले बतायाे । गत पुस १४ गतेदेखि अर्याल उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए । उनी सोही बैंकमा विगत २० वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले करिव साढे ६ वर्ष तत्कालिन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल)मा काम गरेको थिए । मर्जपछिको एनसीसी बैंककाे समाल्नु नै मुख्य चुनौति हुनेछ । एनसीसी बैंकमा अन्य चार विकास बैंक मर्ज हुँदैछन् । मर्जको सबै प्रक्रिया पुरा भएको छ भने असोज २८ गतेबाट एकिकृत कारोबार गर्ने भएको छन् । असोज २८ गते एनसीसी बैंकको स्थापना दिन हो ।  मर्जपछि यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ हुने भएको छ । मर्ज हुनुपूर्व सबै संस्थाको कुल चुक्ता पुँजी ५ अर्ब ६६ करोड रुपैयाँ भएपनि मर्ज स्वाप रेसियोका कारण ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र हुने भएको छ । मर्जपछि लगत्तै बैंकले करिब ३५ प्रतिशत बोनस सेयर दिएर दिने र अपुग रकमको लागि हकप्रद सेयर जारी गरी पुँजी ८ अर्ब पुर्याउने बैंकको तयारी छ । मर्जपछि बैंकको निक्षेप ५८ अर्ब, कर्जा ४७ अर्ब रुपैयाँ, शाखा ९७ वटा र कर्मचारी १०२८ जना हुने भएको छ ।