नेपालमै बन्यो बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर, मूल्य ३ लाख रुपैयाँ

काठमाडौं । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर निर्माण भएको छ । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ ‘ विषयमा अध्ययनरत पाँच जना विद्यार्थीले करिब दुई वर्ष लगाएर स्मार्ट ह्विल चियर निर्माण गरेका हुन् । स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाण्डौ र ईन्फिनिटि ल्याबको संयुक्त प्रयासमा अपांगता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको ह्विल चियरलाई लियोपार्ड नाम दिइएको छ । ईन्फिनिटि ल्याबका युवा ईन्जिनियर सुनिल परियार, सन्तोषराज न्यौपाने, मेन्सन लाखेमरु, भरत केसी र प्रजेश श्रेष्ठ मिलेर ह्विलचियर बनाएका हुन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर राणा तथा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ह्विलचियर सार्वजनिक गरेका छन् ।  ह्विल चियर निर्माणको लगानी सात लाख रुपैयाँ रहेको छ । यो ह्विलचियर प्रयोगमा आए विदेशबाट मंहगो मूल्यमा ह्विलचियर मगाउनुपर्ने बाध्यता हट्ने विद्यर्थीको दाबी छ । यो ह्विलचियर व्यवसायिक रुपमा बने एउटालाई ३ लाख रुपैया सम्ममा बेच्न सकिने ईन्जिनियर सुनिल परियारले जानकारी दिए । युवा ईन्जिनियरहरुको कामको प्रशंसा गर्दै मन्त्री राणाले यस्तो खाले ह्विलचियरको प्रवर्द्धनको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सीआइएलका अध्यक्ष गणेश केसीले विद्यूतिय ह्विलचियर बनाउन सहकार्य गर्न पाँउदा खुसी लागेको बताउदै यसको व्यवसायिकरणको लागि सरकारले पहल गर्नुपर्ने अवश्यकता औल्याए । के छ विशेषता ? नेपालमा चलन चल्तिमा रहेको ह्विलचेयरको तुलनामा यो फरक रहेको छ । यो स्मार्ट इलेक्ट्रिक ह्विल चियर २ देखि ३ घण्टामा  चार्ज हुन्छ । एक पटक पूरा चार्ज भइसकेपछि यो २० देखि २५ किलोमिटर गुड्न सक्ने ईन्जिनियर सन्तोष न्यौपानेले जानकारी दिए। ह्विल चियरमा व्यक्तिगत सामग्री राख्न पछाडिपट्टी सानो झोलाको पनि व्यवस्था गरिएको छ । झोलामा औषधी, औजार तथा अन्य सामग्री सजिलै राख्न सकिन्छ । ह्विल चियरको बाँयापट्टी छेउमा पानीको बोतल राख्ने स्ट्यान्ट छ  भने अगाडी २० देखि २५ केजी तौलको सामान राख्न मिल्ने डिजाइन गरिएको छ । पिसाब फेर्नका लागि थैलीको समेत व्यवस्था गरिएको छ । ह्विल चियरमा जीपीएस सिस्टम जडान गरिएको छ । जसका माध्यमबाट आफ्ना नजिकका मान्छेलाई सम्पर्क गर्न सजिलो हुन्छ । यो ह्विल चियर उकालोमा पनि चढ्न सक्ने बिशेषता रहेको ईन्जिनियर परियारले जानकारी दिए । ह्विल चियरहरुमा लामो समयसम्म बस्ने मानिसहरुको ढाडमा समस्या आउन सक्छ । यसलाई राम्रोसँग हावा छिर्ने गरि बनाईएकाले प्रयोग गर्दा ढाडमा समस्या नहुने पनि ईन्जिनियरहरुले दाबी गरेका छन् ।

स्वावलम्बन बैंकद्वारा ८ जिल्लामा बाढीपीडितलाई राहत वितरण

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित   मोरङ्ग, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा  शाखा कार्यालय मार्फत १ हजार ८ सय ८६ ग्राहक सदस्यलाई राहत वितरण गरेको जानकारी दिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रति सदस्य परिवार चामल, दाल, चिउरा, नुन र खानेतेल गरी १३ लाख २० हजार २ सय रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी दिएको छ । त्यस्तै, प्रभावित सदस्यहरुले बैंकको जीवन तथा आवास सुरक्षा योजना अन्तर्गतको नियम अनुसार थप सुविधा समेत पाउने बैंकले जनाएको छ ।    

सिन्‍धुपाल्चोकको चेपेडाँडामा जिएसएम मोबाइल सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको विकट स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।  टेलिकमले सिन्धुपाल्चोकको अति दुर्गम चेपेडाँडामा जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराउन थालेको हो । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको छ । यस अघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए । चेपेडाँडाको बिटिएस साइट सञ्चालनपछि सिन्धुपाल्चोकका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको छ । यो क्षेत्रमा पहिले देखि नै करिब ४ हजार ग्राहकहरुले सिडिएमए प्रविधिको फोन सेवा उपभोग गरिरहेकोमा अब जिएसएम मोबाइलको पहुँच विस्तार पश्चात् थप सेवाग्राहीहरु पनि लाभान्वित हुने टेलिकमको भनाइ छ । गोल्चे र गुम्बा गाविस चीनको सीमानासम्म जोडिएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमले जानकारी दिएको छ ।