आयल निगम प्रमुख खड्कालाई ‘बर्खास्त’ गर्न मन्त्रीपरिषदमा सिफारिस, होला त कारबाही ?

काठमाडौं । आपूर्ति मन्त्रालयले आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई सिफारिस गरेको छ । जग्गा खरिद प्रकरणमा छानबिन गरेर तयार पारिएको अध्ययन प्रतिवेदन अनुसार  मन्त्रालयले खड्कालाई कारबाही गर्नुपर्ने निश्कर्ष निकाल्दै मन्त्रिपरिषद कार्यालयलाई सिफारिस गरेको हो । सोमबार मन्त्रालयले अध्ययनको प्रतिवेदन सहित कारबाहीका लागि सिफारिसको फाइल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाएको मन्त्री शिव कुमार मण्डलले पुष्टि गरेका छन् । आगामी मन्त्रीपरिषदको बैठकले कारबाही गर्ने वा नगर्ने टुंगो लाग्ने उनले बताए । ‘मन्त्रालयका सचिवज्युले आन्तरिक रुपमा अध्ययन गरी तयार पारेको प्रतिवेदन तयार पार्नुभएको थियो,’उनले भने, ‘हामी सो प्रतिवेदन सहित प्रधानमन्त्री कार्यालयलाई कारबाहीका लागि सिफारिस गरेका थियौं ।’ मन्त्रालयले तयार पारेको अध्ययन प्रतिवेदनले खड्कालाई दोषि ठहर गरेको मन्त्री मण्डलले जानकारी दिए । उनले भने, ‘सचिवज्युले त्यसलाई कारबाहीका लागि सिफारिस गर्नुभएपछि हामीले पठाएका छौं । मैले पूर्णरुपमा प्रतिवेदन पढेको चाँही छैन ।’ दोषिमाथी कुनै हालतमा कारबाही गरिने उनले स्पष्ट पारेका छन् । सोमबार बसेको व्यवस्थापिका संसद – उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकले पनि प्रतिवेदन प्रमाण सहित मन्त्रालयलाई कारबाही गर्न निर्देशन दिएको थियो । कारबाहीका लागि मन्त्रिपरिषधमा सिफारिस गर्ने मन्त्रालयले जानकारी दिएको छ । सम्बन्धित निकायले छानविन गरी खड्कामाथि कार्वाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । मन्त्रालयको उच्च नेतृत्व र आयल निगमले बोलपत्र माध्यमबाट जग्गा खरिद गर्दा आर्थिक अपव्यय अपचलन र अनियमितता भएको ठहर गरेको थियो । २ लाख रुपैयाँ पर्ने जग्गा १६ लाख रुपैयाँमा किनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडादेखि मालपोत हुँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मको मिलोमतोमा भएको पाइएको छ । चलनचल्तीको भन्दा ४ गुणा बढी तिरेको समितिको  ठहर छ । बोलपत्रले अत्याधिक व्ययभार पारेको र सर्वसाधारणले तिरेको रकम अपव्यय गरेको, निगमले खरिद गरेको झापाको जग्गा रेल्वे लाइन भित्र परेको र खरिद गर्ने माध्यम कानुनसम्मत देखिए आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ । निगमले सात प्रदेशमा पेट्रोलियम भण्डारण स्थापना गर्न जग्गा खरिद गरेको हो ।  

सिटिजन्स बैंकको ६२औं शाखा मकवानपुरको मनहरीमा

काठमाडौं । सिटिजन्स बैंकले ६२औं शाखा मकवानपुरको मनहरीमा उद्घाटन गरेको छ । आइतबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकिङ्ग कारोवारको सरुवात गरेका छन् । सो अवसरमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरेको जानकारी िदएकाे  छ । मनहरी शाखाको उद्घाटन सँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई यस बैंकको ६२ वटा शाखा, ५९ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साथै, ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु िदनुकाे साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने लगायतका सुविधाहरु उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । देशको विभिन्न क्षेत्रका ग्रहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको जानकारी दिएको छ ।      

किसान बंगुरपालनतर्फ आकर्षित

नुवाकोट । जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ । उक्त संख्या बर्सेनि बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयमा बंगुरपालनको लागि ६२ वटा फार्म दर्ता भएको कार्यालयका पशु विकास अधिकृत डा चन्द्रविक्रम कुँवरले जानकारी दिए । “बंगुरपालन फस्टाउँदै गएको छ । दर्ता नगरी धेरै किसानले बंगुरपालन गर्दै आएका छन्,” उनले भने । निम्न आयस्तर भएका नागरिकको उत्थानका लागि सरकारले सहकारीमार्फत बंगुरपालनमा अनुदान दिँदै आएको छ । खाद्य सुरक्षा र आयआर्जनका लागि बंगुरपालन कार्यक्रमअन्तर्गत सूर्यगढी गाउँपालिका–३ फँलाटेको अग्रसर कृषि सहकारी संस्थाले बंगुरपालनका लागि सरकारले दिएको अनुदान किसानलाई वितरण गर्दै आएको अध्यक्ष निशा अधिकारीले बताए । उक्त सहकारीले २ वर्षदेखि बंगुरपालनका लागि कृषकलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारद्वारा प्राप्त रकम सहकारीले जिल्लाका विभिन्न ठाउँमा परिचालन गरिरहेको छ । हालसम्ममा १ सय २० जनालाई दुई-दुई वटा बंगुर र खोरका लागि सहकारीले ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको अधिकारीले बताए । बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०/४० कृषकलाई अनुदान रकम प्रदान गरेको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्ने सो संस्थाले जनाएको छ । रासस