अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन

चितवन । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ । विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा नेपालमा भित्र्याउने क्रम शुरु भएसँगै खसी बोकाको उत्पादन बढ्दो रहेको छ । अफ्रिकासँगै अष्ट्रेलियाबाट पनि उन्नत बोयर जातको बाख्रा र बोका ल्याउने क्रम बढेर गएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्ममा अहिले २८ वटा बोयर जातका बाख्रा र बोका अष्ट्रेलियाबाट ल्याइएको छ । विभिन्न पेशा र व्यवसाय संगालेका छ जनाले दुई वर्षअघि शुरु गरेको सो फार्ममा स्थानीय जातका बाख्रा रहेका छन् । तीन महिनाअघि उनीहरुले अष्ट्रेलियाबाट चारवटा बोका र २४ वटा पाठी भित्र्याएका हुन् । शिक्षक, प्राध्यापक, भेटेनरी डाक्टर, व्यापारी मिलेर उक्त फर्म सञ्चालन गरेका हुन् । फर्मका सञ्चालक रमेशचन्द्र आचार्यकाअनुसार अष्ट्रेलियाबाट २८ वटा बोका र बाख्रा फर्मसम्म आइपुग्दा करिब ५६ लाख रुपैयाँ खर्च भएको छ । यसलाई हेर्दा एउटा बाख्रालाई सरदर २ लाख रुपैयाँ खर्च भएको उनले बताए । फर्ममा क्रस गराई ५० प्रतिशत बोयर भएको एउटा बोका, जमुनापारी जातको एउटा बोका, क्रश गराई २५ प्रतिशत बोयर जातका २० वटा पाठापाठी छन् भने स्थानीय जातका ११५ वटा बाख्रा रहेको सञ्चालक आचार्यले बताए । स्थानीय खरी, जमुनापारी, बारबारी र तराई जातका रहेका छन् । बोयर जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने लक्ष्य फर्मले राखेको छ । फर्मका अर्का सञ्चालक डा विष्णु धितालकाअनुसार बोयर जातको बाख्रा सबै खाले हावापानीमा सजिलै घुलमिल हुनसक्दछ । रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ, भने शतप्रतिशत जुम्ल्याहा पाउने हुँदा नाफामूलक हुन्छ । दुई वर्षमा तीनपटक ब्याउने बताउँदै उनले पाठापाठीलाई तीनदेखि ६ महिनामा बिक्री गर्न सकिने बताए । एक दिनमा १५० देखि ३०० ग्रामसम्म तौल बढ्ने हुँदा खसी उत्पादनका लागि पनि यो जातको बाख्रा उपयुक्त हुने छ । एक वर्षमा एउटा खसी ८० केजीदेखि एक क्विन्टलसम्मको हुने बताइएको छ । समूहगत रुपमा शुरु गरिएको यो फर्म चार बिगाहा क्षेत्रफलमा फैलिएको छ । फर्मका अर्का सञ्चालक गणेश पौडेलकाअनुसार १० वर्षका लागि वार्षिक प्रतिकठ्ठा दुई हजार ५०० देखि तीन हजार ५०० सम्ममा विभिन्न व्यक्तिबाट जग्गा भाडामा लिइएको छ । मकै, चोक्कर, बोनमिल, क्याल्सियम नुन मिसाएर दाना तयार गरेर पनि बाख्रालाई खुवाउने गरिएको छ । जापानमा दुई वर्ष काम गरेर नेपालमै व्यवसाय गर्ने उद्देश्यका साथ फर्किनुभएका सोही समूहका अर्का सञ्चालक आशिश बमले बाख्रामा राम्रो आम्दानी हुने देखेपछि साथीभाइ मिलेर व्यवसाय थालेको बताए । एक हजार बाख्रा पुर्याउने लक्ष्यका साथ काम अगाडि बढेको उनले बताए । झण्डै ३० लाख रुपैयाँ खर्च गरेर सो समूहले ५ सय बाख्रा अट्ने अत्याधुनिक खोर निर्माण गरिसकेका छन् । टाट्नुबाट जुत्तो मल भूइँमा खस्ने हुँदा खोर सफा रहेको छ । यस अघि पिपिआर रोगका कारण ४० वटाभन्दा बढी बाख्रा मरेपछि औषधि छर्केर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाईएको छ भने फर्मभन्दा बाहिरबाट ल्याईएका बाख्रालाई बोका लगाउन दिईएको छैन । सबै बाख्रालाई पिपिआरको सुई लगाईएको छ भने सबैको बीमा गरिएकाले जोखिम कम रहेको संचालक आचार्यले बताए। सो समूहले हालसम्म करिब १ करोड १० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । आचार्यका अनुसार आफ्नै घरजग्गा धितो राखेर सहुलियत ऋण  ९६ लाख रुपैयाँ लिइएको छ भने बाँकी रकम सञ्चालकहरुले लगानी गरेका छन् । रासस  

आयल निगमका कार्यकारी निर्देशकमा प्रेम आचार्य नियुक्त, भन्छन्- ‘निगमलाई पारदर्शी बनाउँछु’

काठमाडौं । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेम प्रसाद आचार्यलाई नियुक्त गरेको छ । बुधबार बसेको आपूर्ति मन्त्री सहितको बैठकले मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत आचार्यलाई निगम प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्रालयले अर्को आदेश नआउन्जेल शर्मालाई नै कार्यकारी निर्देशकका रुपमा काम सुम्पेको मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौडेलले जानकारी दिए । आचार्यले शुक्रबारदेखि औपचारिक रुपमा कार्यकाल थाल्नेछन् । नियमित कार्यकालमा पारदर्शी ढंगले अघि बढ्ने आचार्यले बताए । उनले विकासन्युजसँग कुरा गर्दै भने, ‘मन्त्रालयले सुम्पेको जिम्मेवारीलाई अनुशासन सहित पालना गर्नेछु ।उपभोक्ताको हितमा रहेर आयल निगमको सञ्चालनलाई पारदर्शी ढंगले सञ्चालन गर्नेछु ।’ गत सोमबार मन्त्रिपरिषधले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै गोपाल बहादुर खड्कालाई कार्यकारी निर्देशकबाट पदच्युत गरेको थियो ।

फास्टफुड एसोसिएसन नेपालको १३ औं साधारण सभा सम्पन्न

काठमाडौं । फास्टफुड एसोसिएसनले १३औं साधारण सभा सम्पन्न गरेको छ । एसोसिएसनले सुधारका लागि भवन निर्माणका कार्य गर्दै अाएकाे तथा ग्राहकलाइ स्वस्थ खानेकुरामा जोड दिनेलगायतका कार्यमा सफल्ता प्राप्त गर्दै आएको जानकारी दिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा फास्टफुड एसोसिएसनका कोषाध्यक्ष रमिला श्रेष्ठका अनुसार उक्त संस्थाले गत आवमा २५ लाख ३४ हजार ८ सय २१ रुपैयाँ बराबरको कारोबार गरेको छ । उनका अनुसार उक्त एसोसिएसनले विभिन्न  भौतिक सम्पती अन्तर्गत टेलिफोन, कम्प्युटर, टेबुल, फर्निचरलगायतका सामानहरु संस्थामा रहेको जानकारी दिइन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रोफेसर तथा रक्षा मन्त्री भिमसेनदास प्रदानले नेपालका मन्त्री तथा नेताहरुले विभिन्न देश घुमेर फास्फुडको बारेमा जानकार भएता पनि नेपालमा चेतना दिन नसकेको बताए । अहिले फास्टफुड सन्चालनको लागि पनि एन आएको छ र त्यसलाई लागु गर्दै लैजाने उनले प्रतिबद्धता जनाए । सभामा एसोसिएसनका संस्थापक सदस्य राकेस श्रेष्ठले भने, ‘प्रहरी प्रसाशनमा धाउन परेको छ । ठगि गर्ने ग्राहकले गर्दा मर्कामा छौँ, एकछिनमा आएर पैसा तिर्छु भनेर धम्काउँछन् तर तिर्दैनन् ।’ यस्तो समस्याको लागि उपयुक्त प्रावधान बनाउन पर्ने उनले बताए । संस्थाका सल्लाहकार तथा बाजेको सेकुवाका सञ्चालक चेतन भन्डारीले उक्त संस्थाको प्रगति तथा सो संस्थाले एफएनसीसीआइको सदस्य बन्ने भएकोमा खुसि व्यक्त गरे । साथै, अन्य सबै वक्ताले नयाँ भनव निर्माण गर्न लागेकोमा प्रगति भएको अनुभुती व्यक्त गरे ।