प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । ‘ जनतामा केन्द्रितःदिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि शुरु हुँदैछ । महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रिपति मैत्रीपाला सिरिसेना, बंगलादेशका राष्ट्रपति सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । प्रधानमन्त्री देउवाले सेप्टेम्बर २२ मा इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले त्यहाँका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई निर्देशनसमेत दिनाका साथै २२ सेप्टेम्बरमा न्यूयोर्कस्थित राष्ट्र संघ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् । त्यसैगरी उनी न्यूयोर्कका नेपालका महावाणिज्यदूतले २३ सेप्टेम्बरमा नेपालको संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ । प्रधामन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्नेछन्, त्यहाँ उनले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरुको संरक्षणका बारेमा निर्देशन दिनुहुने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् । महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने आजै न्यूयोर्क प्रस्थान गर्दै छन् । परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नेछन् । उनले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नेछन् । उनले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने प्रवक्ता पौडेलले जानकारी दिए । न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरसद्वारा आयोजित दिवाभोजमा सहभागी हुने कार्यक्रम छ । उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषद्धारा आयोजित राष्ट्रसंघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफल, राष्ट्र संघका महासचिवले आयोजना गर्र्ने यौन शोषण र दुव्र्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुरको अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागीहुनेछन् । सो सिलसिलामा उपप्रधानमन्त्री महराले बहराइन, भुटान, नर्वे, ओमन र कतारका विदेशमन्त्री तथा राष्ट्र संघका उच्च अधिकारीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन् । उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट «संघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री देउवासँग नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरा, महिला, बालबाललिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । रासस ––––
सिमेन्ट अभावमा चार जलविद्युत् आयोजना प्रभावित
काठमाडौं । नेपालको जलविद्युत् आयोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नयाँ नियम लागू भएपछि नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका परियोजना समस्यामा परेका छन् । दैनिक काम नै रोकिएको भन्दै आयोजना प्रमुखले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई तत्काल समस्या समाधान गरिदिन आग्रहसमेत गरेका छन् । गत भदौ ३० गते आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपाओर लिमिटेडका प्रबन्ध सञ्चालक माधव कोइरालाले सिमेन्ट अभावमा निर्माण कार्य प्रभावित भएको बताएका थिए । प्रबन्ध निर्देशक कोइरालाका अनुसार सो आयोजनामा दैनिक १ सय टन सिमेन्ट आवश्यक पर्दछ । नापतौल तथा गुणस्तर विभागले भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने भन्दै निर्देशनात्मक परिपत्र गरेको थियो । सो आयोजनमा भारतीय जेपी र जेपी गोल्ड सिमेन्ट प्रयोग भइरहेको छ । नेपाली सिमेन्ट प्रयोग गर्न सकिने भए पनि त्यसको पनि गुणस्तर परीक्षण गरिएको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको रसुवागढी मात्रै नभई माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजना विगत पाँच महिनादेखि सिमेन्टको अभावमा प्रभावित हुन पुगेको छ । भारतीय पक्षले भने सिमेन्टको मात्रा थोरै हुने भएकाले आफूले एनएस चिह्न राखेर पठाउन नसक्ने जवाफ पठाएको रसुवागढीका प्रबन्ध निर्देशक कोइरालाको भनाइ छ । कूल १ सय ११ मेगावाट क्षमताको सो आयोजनाको भूकम्प र नाकाबन्दीपछि निर्माणसक्ने नयाँ कार्यतालिका सन् २०१९ तोकिएको छ । सान्जेनका दुवै जलविद्युत् आयोजनामा पनि दैनिक १ सय टनभन्दा बढी सिमेन्ट खपत हुन्छ । सिमेन्ट अभावमा आयोजना ढलान तथा कङ्क्रिटको काम प्रभावित भएको छ । चौध मेगावाट क्षमताको माथिल्लो सान्जेनको निर्माण कार्य ६० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ । यस्तै गत वैशाखदेखि मात्रै पुनःनिर्माणको काम शुरु गरेको माथिल्लो त्रिशूली थ्री ए मा पनि सिमेन्टको समस्या देखिएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले पनि कोइरालाकै शैलीमा सिमेन्टको समस्या समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग आग्रह गरे । भूकम्पका कारण प्रभावित भएको माथिल्लो त्रिशूली थ्री मा चिनियाँ ठेकेदार गेजुवाले काम गर्न अनिच्छा व्यक्त गर्दै आएको थियो । ऊर्जा मन्त्रालयको दबाबपछि चिनियाँ ठेकेदार काम गर्न आए पनि सिमेन्ट उपलब्ध नहुँदा थप समस्या आउनसक्ने देखिएको छ । ठेकेदारले काम शुरु गरेपछि सो आयोजनाको सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कूल चार हजार १ सय मिटर लामो सुरुङमध्ये अब २४ मिटर मात्रै खन्न बाँकी रहेको जानकारी दिँदै आयोजना प्रमुख जोशीले दशैँसम्म सुरुङ ‘ब्रेक थ्रु’ हुने बताए । माथिल्लो थ्री ए आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजना हो । कहिले आयोजनाको क्षमता वृद्धि गर्ने विवाद त कहिले ठेकेदारसँग काम गर्ने सवालमा देखिएको असमझदारीका कारण परियोजना डेढ वर्ष पर धकेलिएको छ । माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो सान्जेन, सान्जेन र रसुवागढीमा एकै प्रकारको समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उच्च राजनीतिक एवं कूटनीतिक तहमा छलफल गरेर समाधान गर्ने बताएका छन् । घिसिङले भने, “सिमेन्टका कारण आयोजना रोकिने अवस्था आउँदैन । म समस्या समाधान गर्ने प्रयास गर्नेछु ।” नापतौल तथा गुणस्तर विभागले भने निर्माण कार्यलाई गुणस्तरीय बनाउन स्वदेशी तथा विदेशी सबै खालका सिमेन्टको गुणस्तर मापन जरुरी रहेको जनाएको छ । निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीले भने भारतीय सिमेन्टमा समस्या भए नेपाली सिमेन्टको गुणस्तर परीक्षण गरेर तत्काल काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै आएका छन् । रासस –––
दशैँ अगाडि यातायात सञ्चालन गर्न निर्देशन
संखुवासभा । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले दशैँ अगाडि यातायात सञ्चालन गर्न ठेकेदारलाई निर्देशन दिएकी छिन् । शनिबार वसन्तपुर–चैनपुर सडकखण्डको मुढेमा निरीक्षणका लागि आएका राज्यमन्त्री गुरुङले दशैँ अगाडि यातायात सञ्चालन हुने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । “ठेकेदारको लापरवाहीका कारण समयमा सडक निर्माणको काम शुरु हुनसकेको छैन भन्ने व्यापक जनगुनासो आएको छ, चाँडो डोजर ल्याएर बाटो निर्माण गर्नुहोस्,”, राज्यमन्त्री गुरुङले भनिन् । पटक पटक कालोपत्रे गर्ने नाममा ठूलो बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीले समयमा काम नगरेको जनगुनासो आएपछि राज्यमन्त्री गुरुङ कोसी राजमार्गको प्रवेशमार्ग टुटे देउरालीदेखि मुढे–मामलिङ र लेगुवा– तुम्लिङटार सडक खण्डको अनुगमनमा आएकी हुन् । सोही अवसरमा सांसद दीपक खड्काले आफूले निर्वाचन क्षेत्र विकास कोषमार्फत वर्षेनी धेरै पैसा विनियोजन गरे पनि समयमा निर्माण सम्पन्न नभएको गुनासो पोखे । पूर्व राज्यमन्त्री खड्काले जिल्ला सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई घच्घच्याउने काम नगरेकाले निर्माण ढिलो भएको बताए । “दशैँ अगाडिसम्म सडक मर्मत कार्य सम्पन्न नभए निर्माण कम्पनी र त्यसमा काम गर्ने कर्मचारीलाई कारबाही हुन्छ,”, उनले भने। रासस