पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ ।   जिल्ला प्रहरी कार्यालयका  अनुसार कान्तिलोकपथ सडकको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पनि पहिरो खसेकोे छ । उक्त पहिरो पन्छाउन वर्षात्ले कठिनाइ भइरहेकाले मौसम सुधार भएपछि मात्र पहिरो पन्छाइने जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अर्को सूचना प्रकाशन नभएसम्म सो सडक भएर सवारीसाधन सञ्चालन नगर्न हुन तथा अर्को वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् । 

एकैदिन ४ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्यामा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४५ सय रुपैयाँले घटेर  २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार छापावाल  सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।   

मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

काठमाडौं । फिफा विश्व कप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरीएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले घोषणा गरेका छन् । उनीहरुको बीचबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा ६ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले  विज्ञप्ति मार्फत जनाएका छन् ।  मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा गत जुन –११ मा सुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २९३ वटा छापा मारी  वेबसाइट र सामाजिक सञ्जाल मार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको उनले बताएका छन् ।  उनका अनुसार अधिकारीहरूले १८५ वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू, र सामाजिक सञ्जालका  खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका  छन् ।