विदेशिएका नेपाली फर्किने वातावरण बनाउन सबै पक्ष सक्रिय हुनुपर्छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताएका छन् । ६८औँ संसद् दिवसको अवसरमा मङ्गलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गरे । नेपाल बस्नलायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताए । वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने उल्लेख गरे ।

विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उनको तर्क छ ।

‘आगामी दिनमा जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र निर्माण गर्ने विषयमा, सुशासन कायम गर्ने विषयमा तथा भ्रष्टाचारको अन्त्य गर्ने विषयमा यहाँहरूले हामीलाई निरन्तर झक्झक्याइरहनुपर्छ,’ उनले भने ।

सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ (गति र भावना) मिलेमा मात्र जनताको चाहनाअनुसार परिणाममुखी काम गर्न सकिने उल्लेख गरे । संविधानको अक्षरशः पालना गर्दै कानुनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

मुलुकमा प्रिमियम क्लासको राजनीति गर्ने अवसर अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गर्दै उनले वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए।

Share News