यी हुन् भुटानी शरणार्थी मुद्दामा सफाइ पाउने सात जना, सन्दीप र प्रतीक पनि मुक्त

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा ७ जनालाई सफाइ दिएको छ । मंगलबार (आज) न्यायाधीश तेजबहादुर खडकाको इजलासले ७ जनालाई सफाइ दिएको हो । सफाइ पाउनेहरुमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतीक रामबहादुर थापा बादलका छोरा हुन् । मंगलबारको फैसलासँगै कसुर ठहर र सफाइ पाउने प्रतिवादीहरूको टुंगो लागेको हो । दोषी ठहर भएकाहरूको सजाय निर्धारण भने आगामी सुनुवाइमार्फत गरिने जनाइएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलेको आरोपमा यो मुद्दा दायर भएको थियो । यो प्रकरण पछिल्ला वर्षहरूमा नेपालको सबैभन्दा चर्चित आपराधिक तथा राजनीतिक मुद्दामध्ये एक हो । भुटानी शरणार्थी प्रकरणमा कसुर ठहर, सजाय अर्को पेशीमा

भुटानी शरणार्थी प्रकरणमा कसुर ठहर, सजाय अर्को पेशीमा

काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंले प्रतिवादीहरूको कसुर ठहर गरेको छ । यद्यपि उनीहरूको सजाय भने मंगलबार (आज) निर्धारण भएको छैन । न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरूलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशी तोक्ने आदेश गरेको हो ।  अदालतको पूर्ण फैसला भने आउन बाँकी रहेको छ । यस मुद्दामा गत २७ जेठदेखि जिल्ला अदालत काठमाडौंमा निरन्तर सुनुवाइ हुँदै आएकोमा लामो बहसपछि अदालतले कसुर ठहरको फैसला सुनाएको हो । मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित बेचन झा, प्रतिक थापा, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी प्रतिवादी छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको आरोपमा यो प्रकरण सार्वजनिक भएको थियो । यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २०८० सालमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अब अदालतले अर्को पेशीमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गर्नेछ । 

सुनसहित पक्राउ परेका गुप्ताको ७३ लाख ३० हजार ५०० रुपैयाँ जफत

काठमाडौं । विशेष अदालतले बलरामप्रसाद गुप्ताको साथबाट बरामद भएको ६ केजी सुन र ७३ लाख ३० हजार ५०० रुपैयाँ जफत गर्ने फैसला सुनाएको छ । मंगलबार (आज) विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सम्पत्ति (शुद्धीकरण मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम उक्त रकमको स्रोत पुष्टि हुन नसकेपछि अदालतले रकम जफत गर्ने फैसला सुनाएको हो । गुप्ता ६ केजी सुन र ७३ लाख ३० हजार ५०० रुपैयाँ नगदसहित पक्राउ परेका थिए । बरामद भएको ६ केजी सुनको हकमा सुन चोरी निकासी पैठारी तस्करी मुद्दामा यसअघि नै कसुर ठहर भई फैसला अन्तिम भइसकेको छ। सुन तस्करीसँगै बरामद भएको उक्त नगदका सम्बन्धमा अभियोजन पक्षले यो रकम अवैध सुनकै कारोबारबाट आर्जित भएको दाबी गरेको थियो । नगद सुन कारोबारकै रकम भनेर पुष्टि गर्ने आधार र प्रमाण पेश हुन सकेन । गुप्ताले आफ्नो साथबाट बरामद भएको उक्त ठूलो परिमाणको नगद कहाँबाट र कसरी प्राप्त भएको हो भन्ने कुराको कुनै वैध स्रोत वा प्रमाण पेश गर्न सकेनन् । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (ख) र (ग) अन्तर्गतको कसूर (सम्पत्ति शुद्धीकरण) नै भएको पुष्टि नभए तापनि स्रोत नखुलेको रकम राख्नु सोही ऐनको दफा २८ को उपदफा (१) बमोजिमको कसुर हुने ठहर अदालतले गरेको छ । ‘गुप्ताले स्रोत प्रमाणित गर्न नसकेको उक्त नगदका हकमा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २८ को उपदफा (२) बमोजिम जफत हुने ठहर्छ,’ फैसलामा उल्लेख गरिएको छ ।  अदालतको फैसलाले स्रोत नखुलेको उक्त ७३ लाख ३० हजार ५०० रुपैयाँ अब सरकारी कोषमा जाने भएको छ ।