काठमाडौं । जिल्ला अदालत, काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा ७ जनालाई सफाइ दिएको छ ।
मंगलबार (आज) न्यायाधीश तेजबहादुर खडकाको इजलासले ७ जनालाई सफाइ दिएको हो ।
सफाइ पाउनेहरुमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् ।
सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतीक रामबहादुर थापा बादलका छोरा हुन् ।
मंगलबारको फैसलासँगै कसुर ठहर र सफाइ पाउने प्रतिवादीहरूको टुंगो लागेको हो । दोषी ठहर भएकाहरूको सजाय निर्धारण भने आगामी सुनुवाइमार्फत गरिने जनाइएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलेको आरोपमा यो मुद्दा दायर भएको थियो ।
यो प्रकरण पछिल्ला वर्षहरूमा नेपालको सबैभन्दा चर्चित आपराधिक तथा राजनीतिक मुद्दामध्ये एक हो ।