काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंले प्रतिवादीहरूको कसुर ठहर गरेको छ । यद्यपि उनीहरूको सजाय भने मंगलबार (आज) निर्धारण भएको छैन ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरूलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशी तोक्ने आदेश गरेको हो ।
अदालतको पूर्ण फैसला भने आउन बाँकी रहेको छ ।
यस मुद्दामा गत २७ जेठदेखि जिल्ला अदालत काठमाडौंमा निरन्तर सुनुवाइ हुँदै आएकोमा लामो बहसपछि अदालतले कसुर ठहरको फैसला सुनाएको हो ।
मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित बेचन झा, प्रतिक थापा, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी प्रतिवादी छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको आरोपमा यो प्रकरण सार्वजनिक भएको थियो । यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २०८० सालमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अब अदालतले अर्को पेशीमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गर्नेछ ।