घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ । प्रतिवेदनका अनुसार आव २०८१/८२ को नौ महिनाको तुलनामा चालु आवको ११ महिनामा घरजग्गाको कुल कारोबारको सङ्ख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कारोबार सङ्ख्या ४.५२ प्रतिशतले घटेको थियो । प्रतिवेदनका अनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गतको कारोबार सङ्ख्या ०.६२ प्रतिशतले बढेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ६.७१ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा लिखत पारितअन्तर्गतको राजीनामा कारोबारको सङ्ख्या १२.१७ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो कारोबार सङ्ख्या ३.२६ प्रतिशतले घटेको छ । प्रतिवेदनका अनुसार चालु आवको नौ महिनामा एक खर्ब ८३ अर्ब ९० करोड रुपैयाँबराबरको घरजग्गाको कारोबार भएको छ । जबकि अघिल्लो आवको सोही अवधिमा भने एक खर्ब सात करोड रुपैयाँ मूल्यबराबरको घरजग्गाको कारोबार भएको थियो । चालु आवको नौ महिनामा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो ।
सिँचाइदेखि बजारसम्म एउटै योजना, किसानको आय बढाउन दुई मन्त्रालयको सहकार्य
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारी करणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो । छलफलका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरण समेत प्रभावकारी हुन सके मात्र लगानीको पूर्ण प्रतिफल प्राप्त हुने धारणा राखे । त्यसका लागि सिँचाइ र कृषिसम्बन्धी कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने प्रस्ताव उनले गरे । कृषिमन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्म समन्वयलाई थप सुदृढ बनाउने बताइन् । यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरेका थिए । उनले रानी-जमरा-कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणाली लगायतको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख तथा प्राविधिकहरूसँग अन्तरक्रिया गरेको थियो । त्यसक्रममा आयोजनाको प्रगति, सञ्चालनका चुनौती र किसानको आवश्यकता बारे प्रत्यक्ष छलफल भएको थियो । बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजनाले जिल्लाका छ वटा स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । त्यसैगरी कैलालीको रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाबाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ । त्यस्तै बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित काम गरिरहेको छ । यी आयोजनाको करिब आधा निर्माण सम्पन्न भइसकेको छ भने मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणाली विस्तारसँगै किसानले क्रमशः प्रत्यक्ष लाभ लिन थालेका छन् । सरकारको अपेक्षाअनुसार यी आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि हुने, खाद्य सुरक्षा सुदृढ हुने, किसानको आयआर्जन बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । मन्त्रालयका अनुसार सिँचाइ आयोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई कृषि आधुनिकीकरण, व्यावसायिक खेती विस्तार र ग्रामीण समृद्धिको आधारका रूपमा विकास भइरहेका छन् ।
३ वर्षमा आन्तरिक उडानबाट झन्डै १० लाख विदेशीले गरे यात्रा
काठमाडौं । नेपालमा तीन वर्षमा ९ लाख ९७ हजार ५३८ विदेशी नागरिकले आन्तरिक हवाई उडानमार्फत यात्रा गरेका छन् । दुईवटा वायुसेवा कम्पनीमार्फत करिब १० लाख यात्रुले मुलुकभरका विभिन्न स्थानको आन्तरिक विमानस्थलमा विदेशी नागरिकले यात्रा गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले विदेशी नागरिकलाई उडान भराएका हुन् । त्यसैगरी, ९२ लाख २७ हजार २ सय २५ नेपाली यात्रुले मुलुकभरका विभिन्न विमानस्थलबाट यात्रा गरेका हुन् । बुद्ध एयरलाइन्सबाट सन् २०२४ मा २५ लाख ६३ हजार ८८५ मा स्वदेशी यात्रुले यात्रा गरेका हुन् । त्यसैगरी, १ लाख ५० हजार ४५४ विदेशी नागरिकले यात्रा गरे । सन् २०२५ मा बुद्ध एयरलाइन्सबाट २५ लाख ५० हजार ६०१ यात्रुले यात्रा गरेका थिए । १ लाख ७३ हजार ६३२ विदेशी यात्रुले यात्रा गरेका थिए । सन् २०२६ मा बुद्ध एयरलाइन्समार्फत २२ लाख ८३ हजार ९८७ यात्रुले यात्रा गरेका छन् । १ लाख ६९ हजार ६४८ विदेशी यात्रुले यात्रा गरेका हुन् । त्यसैगरी, यति एयरलाइन्समार्फत सन् २०२४ मा ७ लाख २८ हजार ९४८ नेपाली यात्रुले यात्रा गरेका थिए । २ लाख ५ हजार १९६ जना विदेशी यात्रुले यात्रा गरेका थिए । सन् २०२५ मा यति एयरलाइन्समार्फत ८ लाख ३ हजार ८०५ नेपाली यात्रुले यात्रा गरेका थिए । १ लाख ९१ हजार ५७७ विदेशी यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२६ को केही महिनाको तथ्यांकअनुसार यति एयरलाइन्समार्फत २ लाख ९५ हजार ९९९ यात्रुले यात्रा गरेका छन् । त्यसैगरी १ लाख ७ हजार ३१ विदेशी नागरिकले यात्रा गरेका छन् । हाल नेपालमा तीन वायुसेवा कम्पनीले उडान भरिरहेका छन् । बुद्ध एयरलाइन्स, यति एयरलाइन्स र सौर्य एयरलाइन्सले उडान भरिरहेका छन् । बुद्ध एयरलाइन्सको एटीआर ७२– १६ विमान र एटीआर ४२– २ विमानले उडान भरिरहेका छन् । यति एयरलाइन्स एटीआर ७२- ७, सौर्य एयरलाइन्स सीआरजे २००– २ र क्यु ४००– ७ वटा विमान रहेका छन् ।