टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेतलाई सफाइ, तत्कालीन अध्यक्ष झासहित ३ अधिकारी दोषी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित ‘टेरामक्स’ खरिद भ्रष्टाचार मुद्दामा विशेष अदालतले महत्वपूर्ण फैसला सुनाएको छ । अदालतले तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ भने प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित तीन उच्च अधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सुनाएको फैसलाअनुसार बस्नेतले मन्त्रीका रूपमा नीतिगत निर्देशन मात्र दिएको खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको वा व्यक्तिगत लाभ लिएको प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेकाले उनलाई सफाइ दिइएको हो । यता, तत्कालीन अध्यक्ष दिगम्बर झाले आवश्यक पूर्वतयारी नगरी बदनियतका साथ खरिद प्रक्रिया अघि बढाएको अदालतको ठहर छ ।  उनलाई ६ महिना कैद ५० हजार रुपैयाँ जरिवाना तथा उच्च पदस्थ अधिकारी भएकाले थप ६ महिना कैदसहित कुल १ वर्ष कैद सजाय सुनाइएको छ । प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई पनि जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । मुद्दाका अन्य प्रतिवादीहरू पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र तथा भेनराइज सोलुसन्सका एजेन्टहरूले भने अदालतबाट सफाइ पाएका छन् । फैसलामा विशेष अदालतले सार्वजनिक खरिद प्रक्रियामै गम्भीर त्रुटि भएको औंल्याउँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), लागत अनुमान र लाभ-लागत विश्लेषण नगरी सिधै खरिद प्रक्रिया अघि बढाउनु बदनियतपूर्ण देखिएको उल्लेख गरेको छ ।

भन्सार र आन्तरिक राजस्व विभागमा नेतृत्व फेरबदल, यी हुन् नयाँ कमान्डर

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका दुई महत्त्वपूर्ण निकायमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भन्सार विभाग र आन्तरिक राजस्व विभागमा महानिर्देशक फेरबदल गरिएको हो । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् । यसअघि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ । साथै, विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन् । त्यसैगरी, आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाल नियुक्त भएका छन् । विभागका तत्कालीन महानिर्देशक रमेश अर्याल लाई पनि अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ । नयाँ जिम्मेवारी पाएका सहसचिव यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य हालै बसेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी हुन् । राजस्व संकलन, कर प्रशासन तथा भन्सार व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यी दुई विभागमा नेतृत्व परिवर्तनसँगै राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

भोला थापाले सम्हाले त्रिभुवन विश्वविद्यालयको कार्यभार

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा  प्रा.डा. भोला थापाले सोमबार (आज) देखि कार्यभार सुरु गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति  बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ (२)  बमोजिम गठित समितिको सिफारिसअनुसार सोही ऐनको दफा १८ को उपदफा (२) बमोजिम यही असार  १९ गतेको निर्णायानुसार थापालाई नियुक्त गरेका हुन् ।  काठमाडौं विश्वविद्यालयको उपकुलपति समेत रहिसक्नुभएका प्रा.डा. थापाले  नेपालमा उच्च शिक्षा र अनुसन्धानको विकासमा उल्लेखनीय योगदान पु¥याएका छन् ।  ्काठमाडौं विश्वविद्यालयमा रजिष्ट्रार र इन्जिनियरिङ सङ्कायका डीनसहित थुप्रै महत्त्वपूर्ण नेतृत्वदायी पदहरूमा रहेर उत्कृष्ट योगदान गरिसक्नुभएका नवनियुक्त उपकुलपति प्रा.डा. थापाले हाइड्रोलिक मेसिनरी र ऊर्जा प्रणाली क्षेत्रमा दक्ष विद्वानको समेत ख्याति प्राप्त गरेका छन् ।   उपकुलपति थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीवाट विद्यावारिधि गरेका हुन् ।कीर्तिपुरमा पदभार ग्रहण कार्यक्रममा उनले भौतिक तथा मानविय स्रोत/साधनमा सक्षम तथा विश्वमा पृथक पहिचान र गरिमा बनाएको गौरवशाली त्रिभुवन विश्वविद्यालयलाई सरोकारवाला सवैको राय, सुझाव र सहयोगमार्फत उत्कृष्ट संस्थाको रुपमा विसकित समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा निवर्तमान उपकुलपति प्रा.डा. सुशीलबहादुर बर्जाचार्य, निमित्त शिक्षाध्यक्ष प्रा.डा. शङ्करप्रसाद खनाल एवं निमित्त रजिष्ट्रार प्रा.डा. महानन्द चालिसेलगायत विभिन्न अध्ययन संस्थान तथा सङ्कायका डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, महाशाखाका  प्रमुखहरुलगायत प्राध्यापक, कर्मचारीका साथै विद्यार्थीहरु समेत सहभागी थिए ।