नागढुङ्गा–मुग्लिङ सडक विस्तार, ६० प्रतिशत काम सम्पन्न

काठमाडौं । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेन्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्‍याउने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो । मध्यपूर्वको तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भए पनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएको र कामले पुनः गति लिएको उनले बताए । उनका अनुसार पहिलो खण्ड अन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ । दोस्रो खण्ड (नौबिसे–मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ । उनले भने, ‘हामीले ४३ मध्ये २५ किलोमिटर कालोपत्रे गरिसकेका छौँ । २ किलोमिटर ढलान भइसकेको छ । मौसमको अनुकूलता हेरेर यो काम वर्षाअघि पूरा गर्ने लक्ष्य राखेका छौँ । पहिलो प्याकेजको नागढुङ्गादेखि नौबिसेसम्मको प्रगति करिब ८८ प्रतिशत छ भने यो खण्डको ६० प्रतिशत छ ।’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिएमा आगामी केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार बिटुमिन आपूर्ति सहज भएयता नौबिसे–मलेखु खण्डमा मात्र ३ हजार ३ सय मिटर थप कालोपत्रे भइसकेको छ । उनले भने, ‘हामीले २७ किलोमिटर काम सकिसकेका छौँ । ४३ किलोमिटरमा २ किलोमिटर ढलान भएको छ । २५ किलोमिटर कालोपत्रे भइसकेको छ । मौसमले साथ दिएसम्म ब्रेक नगर्ने भन्ने हाम्रो लक्ष्य छ । बिटुमिनको सहजता र मौसम अनुकूल भयो भने काम गर्न सहज हुन्छ । मौसमका कारण बिहानदेखि बेलुकासम्म काम गर्न पाएको छैन ।’ हाल निर्माण कम्पनीले दैनिक ४ सयदेखि ५ सय मिटरसम्म कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको छ । प्रतिकूल मौसम र प्राविधिक कठिनाइका बाबजुद आयोजनाले यसै आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ । वर्षात् सुरु हुनुअघि नै उत्खनन गरिएका पुराना पिच खण्डहरूलाई पुनः कालोपत्रे गरी सवारी आवागमन सहज बनाउन आयोजनाले उच्च प्राथमिकता दिएको छ ।

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी तीन हजार ५०० नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, 'हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि कायम रहेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ । पालिकाका सातवटै वडाबाट दलित समुदायसँग अन्तरजातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा–युवतीसम्मलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्नुपर्ने सन्देश दिन खोजेका हौँ ।' गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्ष उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतिक्षा रसाइली, दलबहादुर खड्काथोकी तथा वडा नं १ का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटा लगायतले सम्मान गरेका थिए । कार्यपालिका सदस्य प्रतिक्षा रसाइलीले अन्तरजातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको बताउँदै गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।      काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् ।       साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् । उक्त कारबाहीबाट रु १० लाख ६२ हजार असुली गरिएको छ ।