छाडा पशु छाड्नेलाई कारबाही, ५ सय पशु नियन्त्रणमा लिई ७ लाख जरिवाना
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशु चौपाया छाड्नेलाई कारबाही गर्न थालेको छ । छाडा पशु चौपायाका कारण मानवीय जोखिम बढेको भन्दै नियन्त्रणमा कडाइ गरेको उपमहानगरपालिकाले ५ सयभन्दा बढी छाडा पशु चौपाया नियन्त्रणमा लिई ७ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन गरेको छ । छाडा पशुबाट मानिसमा हुने जोखिम तथा प्लास्टिकजन्य फोहोरका कारण पशुमा पर्ने असर कम गर्न आइतबार जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाले आयोजना गरेको छलफल तथा अन्तरक्रियामा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुर धाममा छाडा पशु चौपायाको समस्या चुनौतीपूर्ण बन्दै गएकाले छाडा चौपाया नियन्त्रणका लागि कडा कदम चालेको बताए । पशु सडकमा छाड्ने व्यक्तिलाई उपमहानगरपालिकाले ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जानकारी दिँदै उनले पछिल्लो समय छाडा पशु नियन्त्रणमा लिई छाड्ने व्यक्तिबाट ७ लाख रुपैयाँ जरिवाना सङ्कलन भएको बताए । प्रमुख साहका अनुसार छाडा पशु नियन्त्रणमा लिई वडा नं १२ मा रहेको पशु गौशालामा करिब ५ सयभन्दा बढी पशु चौपाया राखिएका छन् । नियमको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै उनले छाडा पशु नियन्त्रणको काम स्थानीय तहले मात्र गर्न नसक्ने भएकाले तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारणको साझा सहकार्य आवश्यक रहेको बताए । मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सञ्जयकुमार यादवले छाडा पशु व्यवस्थापनलाई केवल स्थानीय तहको विषयका रूपमा नभई सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण र पशु कल्याणसँग जोडिएको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए । उनले प्लास्टिकजन्य फोहोरको अव्यवस्थित व्यवस्थापनका कारण पशुहरूको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै प्लास्टिकको प्रयोग न्यूनीकरण र उचित फोहर व्यवस्थापनमा जोड दिए । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र धनुषाका प्रमुख डा. सञ्जीवकुमार ठाकुरले प्लास्टिक अहिले मानव जीवनको अभिन्न अङ्ग बने पनि यसको जथाभावी प्रयोग र व्यवस्थापनका कारण पशुहरू सबैभन्दा बढी प्रभावित भइरहेको बताए । सडकमा फालिएका प्लास्टिकका झोला र अन्य फोहोरसँगै खाद्यवस्तु खाँदा गाईवस्तुलगायत पशुको पेटमा प्लास्टिक जम्मा हुने, त्यसले पाचन प्रणालीमा समस्या सृजना गर्ने, उत्पादन क्षमता घट्ने तथा कतिपय अवस्थामा पशुको मृत्यु नै हुने अवस्था देखिएको उनले जानकारी दिए ।
आज रातिसम्म देशका धेरै ठाउँमा वर्षा, केही क्षेत्रमा भारी पानीको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाडी भू-भाग तथा बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
क्यामेराको आँखाबाट उम्किएनन् चालक, एक वर्षमा ३८ हजारभन्दा बढी कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको छ । सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई निगरानी गर्दै कारबाहीलाई तीव्र बनाएको जनाएको छ । कार्यालयका अनुसार प्रविधिमार्फत निगरानी बढाएपछि कारबाहीमा पर्ने सवारी चालकको सङ्ख्या उल्लेख्य बढेको छ । कार्यालयले एक वर्षमा कुल ३८ हजार ७७८ जना चालकलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ‘चालकले सिटबेल्ट लगाएको छ वा छैन, सवारी चलाउँदै मोबाइल फोन प्रयोग गरेको छ वा छैन, धूमपान गरेको छ वा छैन भन्ने विवरणसमेत क्यामेराले रेकर्ड राख्छ’, उनले भने,‘चालकले ट्राफिक नियम उल्लङ्घन गरेको पुष्टि भएपछि सम्बन्धित चालकलाई कानुनअनुसार कारबाही गरेका छौं ।’ ट्राफिक प्रहरीका अनुसार सडकमा नियम उल्लङ्घन गरेर भाग्ने सवारी चालकलाई उक्त क्यामेरामार्फत पहिचान गरी जरिवाना तथा कानुनी कारबाही गरिँदै आइएको छ । साथै एएनपिआर क्यामेराले सवारीसाधनको नम्बर प्लेट मात्र होइन, चालकको गतिविधिसमेत निगरानी गर्ने गरेको छ । कार्यालयको तथ्याङ्कअनुसार २०८२ वैशाखदेखि २०८३ असार २० गतेसम्म एएनपिआर क्यामेराको सहायताले १५ हजार ९५४ जना चालकलाई कारबाही गरिएको छ । त्यस्तै, सोही अवधिमा सिसिटिभी क्यामेराको निगरानीबाट २२ हजार ८२४ जना चालकलाई जरिवानासहित कारबाही गरिएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुगेको बताए । उनका अनुसार कुनै सवारी दुर्घटना गराएर फरार भए पनि क्यामेराले सम्बन्धित मार्गबाट गुज्रिएका सवारीको नम्बर प्लेट र विवरण सुरक्षित राख्ने भएकाले अनुसन्धान र कारबाही गर्न सहज भएको छ । उनले भने, ‘दुर्घटना गराउने सवारी चालक भागे पनि उक्त सवारीको रङ, नम्बर प्लेट वा अन्य विवरणका आधारमा सम्बन्धित सवारी धनीसम्म पुगेर आवश्यक कानुनी कारबाही गर्ने गरेका छौं ।’