कांग्रेसले माग्यो नयाँ क्रियाशील सदस्यता: स्वदेश र विदेशबाटै अनलाइन आवेदन दिन सकिने

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ । पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा सोमबार (आज) केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य बन्न इच्छुक व्यक्तिले पार्टीको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।  

पूर्वसभामुख महरालाई  थुनामुक्त गर्न आदेश

काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सुन भन्सार छली तस्करी गरेर राज्यलाई हानी नोक्सानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

१ अर्ब २१ करोडको मादी पुल अन्तिम चरणमा

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको सोमबार (आज) निरीक्षण गरेका छन् ।  निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ ।  तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का एक अर्ब २१ करोड रुपैयाँमा दिइएको हो ।  मन्त्री लम्सालले आजै मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत पूर्वी र पश्चिमी खण्डको समेत निरीक्षण गरेका मुग्लिन-पोखरा सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।