न्यायालयप्रतिको जनआस्था जगाउन प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन्  । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, लगनशीलता र इमान्दारिताका साथ कार्य गर्न उनले निर्देशन दिएका हुन् ।  प्रधानन्यायाधीश शर्माले वर्तमान समयमा जनताको चाहनाअनुसार राज्यका सबै निकायले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । न्यायपालिकाले तयार गरेको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना तथा गत वर्ष भदौ २३ र २४ गतेको घटनापछि तयार गरिएको सङ्कट व्यवस्थापन कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमार्फत न्यायपालिकाप्रति जनताको विश्वास र आस्था कायम राख्नुपर्ने उनको जोड छ । निर्देशनमा रणनीतिक योजना र कार्ययोजनालाई सुधारको आधार बनाउने, बक्यौता मुद्दा न्यूनीकरण गर्ने, मुद्दा प्रवाह व्यवस्थापन प्रभावकारी बनाउने, पेशी, कजलिस्ट तथा इजलास व्यवस्थापन सुधार गर्ने, विकृति, विसङ्गति र अनियमितताप्रति शून्य सहनशीलता अपनाउने तथा सुशासनसम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउन भनिएको छ । गुनासो सुनुवाइका प्रभावकारी संयन्त्र सञ्चालन गर्ने, नागरिक बडापत्र, सूचना कक्ष तथा सेवाग्राहीमैत्री व्यवहारलाई प्रभावकारी बनाउने, म्याद तामेली व्यवस्थित गर्ने, सूचना प्रविधिको प्रयोग बढाउने, अनलाइन बहस, ‘भिडियो कन्फरेन्सिङ’ तथा ‘लाइभ स्ट्रिमिङ’को उपयोग विस्तार गर्ने, स्वचालित पेशी-तारेख प्रणाली र पारदर्शितालाई संस्थागत गर्ने तथा फैसला लेखन र कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिइएको छ । प्रधानन्यायाधीश शर्माले पीडितमैत्री न्याय र क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गर्ने, मेलमिलाप तथा विवाद समाधानका वैकल्पिक उपायलाई प्रभावकारी बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, बयान, बकपत्र र प्रमाण परीक्षणमा न्यायाधीशको निगरानी सुनिश्चित गर्ने, वित्तीय अनुशासन कायम गर्ने, बजेटको प्राथमिकताका आधारमा पारदर्शी खर्च सुनिश्चित गर्ने तथा न्यायाधीश र कर्मचारीको आचरण, उपस्थिति, सुरक्षा र जनआस्था अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिए ।

३३ एसएसपीको सरुवा, काठमाडौंमा घिमिरे र ललितपुरमा कार्की

काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाका अनुसार नियमित प्रक्रियाअन्तर्गत उनीहरूको सरुवा गरिएको हो । सरुवा सूचीअनुसार उपत्यकाका दुई महत्त्वपूर्ण जिल्लाका प्रहरी परिसरमा नयाँ कमाण्डर पठाइएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा एसएसपी दिलिप घिमिरेको सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत थिए । त्यस्तै, जिल्ला प्रहरी परिसर, ललितपुरको कमाण्ड एसएसपी तुलबहादुर कार्कीले पाएका छन् । उनी यसअघि गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत थिए । अन्य सरुवा भएका एसएसपीहरूलाई पनि देशका विभिन्न प्रदेश, ब्यूरो, तालिम केन्द्र र प्रधान कार्यालयका विभिन्न महाशाखाहरूमा जिम्मेवारी तोकिएको मानव स्रोत विकास विभागले जनाएको छ ।  

खैरो हेरोइनसहित ११ जना पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले काठमाडौँका विभिन्न स्थानमा यही जेठ १२ गतेदेखि १७ गतेसम्म गरिएको खोजी अभियानका क्रममा ११ जनालाई पक्राउ गरिएको जानकारी दिए । जिल्लाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न र सक्रिय रहेको भन्ने सूचनाका आधारमा ब्यूरोले टोली खटाएको थियो । सो क्रममा निजहरूबाट १०१ ग्राम लागुऔषध बरामद भएकाले सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । ब्यूरोले आज सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा कैलाली, घोडाघोडी बस्ने ३२ वर्षीय दीपाकुमारी विष्ट, महोत्तरी, एकडरा-४ का २६ वर्षीय अमरकुमार साह, चितवन, भरतपुर महानगरपालिका-१७ का ३६ वर्षीय सुनिल लामा, इलाम, चुलाचुली गाउँपालिका-४ का ३५ वर्षीया सङ्गिता बास्कोटा, काठमाडौं महानगरपालिका-२६ का ३७ वर्षीय प्रशान्त राना मगर र नुवाकोट, शिवपुरी गाउँपालिका-२ का ३३ वर्षीय पेम्बा लामा रहेका रेग्मीले जानकारी दिए । उनका अनुसार चितवन, भरतपुर महानगरपालिका-७ का ३८ वर्षीय जीवनकुमार लामा, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-२ का २९ वर्षीय सरोज गुरुङ, भारतको दरभङ्गा जिल्ला, फिर्मा पञ्चायत, कचुवा-२ ठेगाना भएका २६ वर्षीय आकाश सिंह, सुनसरीको धरान उपमहानगरपालिका-१७ की २० वर्षीया जिया राई र मकवानपुर, थाहा नगरपालिका-९ ठेगाना भएकी २० वर्षीया स्वस्तिका तामाङलाई पनि पक्राउ गरिएको छ । निजहरूमध्ये सुनिल लामा र सङ्गिता बास्कोटा लागुऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको अवस्थामा भाद्र २३ र २४ गतेको आन्दोलनमा फरार रहेका रेग्मीले उल्लेख गरे ।