कप्तानगञ्ज घटनामा छानबिन गर्न संयोजक दाहालको माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै संयोजक दाहालले घटनामा गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए । 'त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्न चाहन्छु,' उनले भने । दाहालले घटनापछि उत्पन्न परिस्थितिलाई थप संवेदनशील हुन नदिन सरकारलाई गम्भीर बन्न आग्रह गरे । उनले सबै पक्षलाई संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए ।
सरकारले गर्यो सचिवहरूको सरुवा
काठमाडौं । सरकारले प्रशासनिक नेतृत्वमा हेरफेर गर्दै सचिवहरूको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई भने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीको जिम्मेवारी दिइएको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । यसअघि बागमती प्रदेश सरकारको प्रमुख सचिव रहेका बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । अधिकारी अनिवार्य अवकाश नजिक रहेकाले उनलाई अतिरिक्त समूहमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरीषद कार्यालय स्रोतले जनाएको छ । अधिकारीको सरुवासँगै बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी तत्कालका लागि वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको छ ।
बाँकी रहेका करिब २८ लाख लाइसेन्स छपाई सम्पन्न
काठमाडौं । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले रोकिएका सबै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हरूको छपाई कार्य सम्पन्न गरेको छ । छपाई मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा स्रोतगत समस्याका कारण रोकिएका लाइसेन्सहरू विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मंगलबार भएको सम्झौताअनुसार छपाई गरी वितरणको व्यवस्था मिलाइएको हो । विभागका अनुसार २०८३ असार मसान्तसम्म छपाई हुन बाँकी रहेका कूल २७ लाख ४७ हजार २५३ थान स्मार्ट कार्डहरू छपाई सम्पन्न गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा वितरणका लागि पठाइसकिएको छ । म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी भएका लाइसेन्सहरूको छपाई नगरिएको र नवीकरणपछि १० वर्ष अवधिको प्राप्त हुने भएकाले त्यस्ता वाहकहरूलाई आफूलाई पायक पर्ने यातायात कार्यालयमा गई नवीकरण गराउन विभागले अनुरोध गरेको छ । लामो समयसम्म लाइसेन्स छपाई तथा वितरणमा भएको ढिलाइमा धैर्यता देखाएको भन्दै विभागले सेवाग्राहीहरूप्रति कृतज्ञतासमेत व्यक्त गरेको छ । यसैगरी, आगामी दिनमा नयाँ लाइसेन्स प्राप्ति तथा नवीकरण प्रक्रियालाई सहज बनाउन राष्ट्रिय परिचयपत्र नम्बरबाट विवरण प्राप्त हुने र अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको विभागले जनाएको छ । साथै सवारी चालक अनुमतिपत्रमा भएका विवरणगत त्रुटि सच्याउने, छपाई तथा वितरणसम्बन्धी कार्य सम्बन्धित कार्यालयहरूबाटै तत्कालै हुने प्रबन्ध मिलाइएको छ । वैदेशिक रोजगारीमा जानेहरूका लागि द्रुत (फास्ट ट्र्याक) छपाई तथा कार्ड वितरणसम्बन्धी सेवाका लागि भने सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ ।