के नागढुंगा सुरुङमार्गभित्र इन्टरनेट चल्छ ?
काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गभित्र अब मोबाइल फोन र उच्च गतिको इन्टरनेट सेवा सहजै उपलब्ध हुने भएको छ । नेपाल टेलिकमले सुरुङमार्गभित्र फोर-जी भ्वाइस र डाटा सेवा (इन्टरनेट) दुवै सञ्चालनमा ल्याएको हो । टेलिकमका प्रवक्ता कमल लामिछानेले सुरुङमार्गको निर्माण सम्पन्न भएर सञ्चालनमा आउनुपूर्व नै टेलिकमले आफ्नो सेवा विस्तारको काम पूरा गरेको जानकारी दिए । उनका अनुसार झन्डै २६ सय देखि २७ सय मिटर लामो यस सुरुङमार्गमा निर्वाध सञ्चार सम्पर्क कायम राख्न सुरुङको दुवैतर्फ बिटिएस टावरहरू जडान गरी सिग्नल पठाइएको छ । प्रवक्ता लामिछानेले भने, ‘हामीले २०७९/८० सालदेखि नै यसको तयारी सुरु गरेका थियौं । सुरुङभित्र फाेर-जी मोबाइल सेवा मात्र नभई सुरुङ सञ्चालन गर्ने कार्यालय र बिलिङ प्रयोजनका लागि एफटीटीएच फाइबर इन्टरनेट सेवा पनि उपलब्ध गराइसकेका छौं ।’ सुरुङमार्गभित्र यात्रा गर्दा मोबाइल नेटवर्क काटिने समस्या समाधान गर्न टेलिकमले विशेष प्रविधिको प्रयोग गरेको छ । यसले सुरुङभित्र गुडिरहेका सवारीसाधनमा रहेका यात्रुहरूले विना अवरोध कुराकानी गर्न र इन्टरनेट चलाउन सक्नेछन् । सुरुङ पूर्ण रूपमा सञ्चालनमा आउनुअघि नै सबै प्राविधिक तयारी पूरा भइसकेको प्रवक्ता लामिछानेले जानकारी दिए । यस सेवाको विस्तारसँगै नागढुंगा सुरुङमार्ग प्रविधिमैत्री र सुरक्षित हुने अपेक्षा गरिएको छ । विशेषगरी सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आपतकालीन अवस्थामा तत्काल सञ्चार सम्पर्क गर्न यसले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पोल भाडा बक्यौता उठाउन प्राधिकरण सक्रिय
काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यसक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ । वर्ल्डलिङ्कले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाका आधारमा निर्धारण गरिएको पोल भाडा रकममध्ये कर कट्टीपश्चात् भुक्तानी प्रक्रिया अघि बढाएको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को हकमा संयुक्त रूपमा गरिएको पोल तथा डीबी बक्सको प्रमाणीकरणका आधारमा हिसाब मिलान गरी यसअघि भएको दोहोरो भुक्तानीसमेत समायोजन गर्दै बाँकी रकम भुक्तानी गरेको जनाएको छ । यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राज्यको पूर्वाधार उपयोग गर्ने सबै सेवा प्रदायकले कानुनअनुसार तिर्नुपर्ने शुल्क समयमै भुक्तानी गर्नु दायित्व भएको बताएका छन् । उनले वर्ल्डलिङ्कबाट सुरु भएको भुक्तानी प्रक्रियालाई सकारात्मक सुरुआत भएको उल्लेख गर्दै अन्य सेवा प्रदायकहरूले पनि कानुनबमोजिम आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले सरकार विधिको शासन र कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्याको समाधान कानुनको सीमाभित्र रहेर गरिने बताए । साथै, कानुन कार्यान्वयनलाई अनावश्यक रूपमा राजनीतिक रङ दिने वा भ्रम सिर्जना गर्ने प्रयासप्रति सचेत रहनुपर्ने उल्लेख गर्दै सबैका लागि समान रूपमा कानुन कार्यान्वयन हुने सरकारको नीति रहेको बताए ।
जागिर लगाइदिने भन्दै ५ लाख लिएको आरोपमा गाउँपालिका उपाध्यक्षविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) विरुद्ध पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपाध्यक्षसँगै गाउँपालिकाका तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारलाई पनि प्रतिवादी बनाइएको छ । आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा तत्कालीन एमआईएस अपरेटर सुरेश कँहारको खाताबाट पाँच लाख रुपैयाँ जम्मा भएको पुष्टि भएको थियो । उक्त रकम कार्यालय सहयोगीको नाममा चेक काटेर उपाध्यक्षको खातामा जम्मा गरिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/८० को ‘न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम’ सञ्चालनका लागि गाउँपालिकाबाट उपलब्ध गराइएको ६ लाख रुपैयाँ पेश्कीमध्ये पाँच लाख रुपैयाँ घुसस्वरूप उपाध्यक्षलाई दिइएको देखिएको आयोगको दाबी छ । कार्यक्रममा खर्च नगरी उक्त रकम घुसका रूपमा प्रयोग गरिएको अख्तियारको निष्कर्ष छ । अख्तियारले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो बराबरको जरिवाना, कैद सजाय तथा घुसस्वरूप लिइएको पाँच लाख रुपैयाँ जफत गर्न मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।