सुनसरी घटनापछि निजी क्षेत्रको अपिल, शान्ति कायम गर्न आग्रह
काठमाडौं । सुनसरीको देवानगञ्ज, कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति निजी क्षेत्रका दुई ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई) ले गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वैद्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न समुदायबीचको सामाजिक सद्भाव र सहिष्णुताको केन्द्रका रूपमा परिचित रहेको बताए । कुनै पनि बहानामा हुने हिंसा, झडप र अशान्तिले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको जनजीवन, उद्योग–व्यवसाय तथा समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने उनको भनाइ छ । महासंघले मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ । साथै भ्रम, उत्तेजना र अफवाहबाट टाढा रही संयमता अपनाउन तथा परम्परादेखि कायम सामाजिक भाइचारालाई थप मजबुत बनाउन सबैमा आग्रह गरेको छ । महासंघले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय नेतृत्वलाई पनि तनाव साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आह्वान गरेको छ । यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । परिसंघले नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरणका रूपमा परिचित मुलुक भएकाले यही पहिचानलाई जोगाउँदै संयमता अपनाउन सबै पक्षसँग आग्रह गरेको छ । कुनै पनि समस्या वा असन्तुष्टिको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नभई वार्ता र संवादबाट मात्रै सम्भव हुने भन्दै शान्ति, सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ । परिसंघले मुलुकको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको उल्लेख गर्दै यस्ता घटनाले लगानी, उद्योग–व्यवसाय, उत्पादन र रोजगारी सिर्जनामा प्रतिकूल असर पार्ने जनाएको छ । आन्दोलनका क्रममा जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार तथा पसल बन्द गराउने तथा लुटपाटजस्ता घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योग–व्यवसाय र आम नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । साथै, सामाजिक तथा धार्मिक सद्भाव प्रवद्र्धन गर्न सद्भाव र्यालीलगायत शान्ति स्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न परिसंघले आफ्ना प्रदेश तथा जिल्ला संघहरू तथा निजी क्षेत्रका अन्य संस्थालाई पनि आग्रह गरेको छ ।
वीरगन्जमा पनि निषेधाज्ञा जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रमा ५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सम्भावित तनाव र शान्ति-सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार (आज) उक्त आदेश जारी गरेका हुन् । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । आदेशअनुसार तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य कुनै पनि किसिमका सामूहिक गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । निषेधाज्ञाको आदेश उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।
गोलीकाण्डपछि ओलीले सरकारलाई भने– बल होइन, संवादबाट निकास खोज
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जलगायत पूर्वी नेपालका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न सबै पक्षसँग अपिल गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा सुनसरीका स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न सबै नागरिक, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई भ्रामक प्रचारको पछि नलागी संयमता अपनाउन आग्रह गरेका छन् । जनतालाई विभाजित गर्ने कुनै पनि प्रयासप्रति सचेत रहनुपर्ने उनको भनाइ छ । सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै ओलीले नागरिकको जिउधनको सुरक्षा गर्नु, संवादमार्फत समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भए पनि वर्तमान परिस्थितिमा सरकारले उदासीनता, अत्यधिक बल प्रयोग र मौनता देखाएको आरोप लगाए । उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादको माध्यमबाट निकास खोज्न सरकारसँग आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले हिंसा र द्वन्द्वबाट समस्याको समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै वर्तमान संकटको समाधान सम्भव हुने बताएका छन्। साथै, राष्ट्रिय हित, शान्ति, सुरक्षा र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवालाई एकजुट हुन आह्वान गरेका छन् ।