काठमाडौं । अर्थ मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार (आज) भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।
दुवै पक्षबीच विभिन्न माग र त्यसको सम्बोधनका उपायबारे छलफल भएपछि वार्तालाई निष्कर्षमा पुर्याउन शुक्रबार पुनः बस्ने सहमतिसहित आजको बैठक स्थगित गरिएको हो ।
वार्ताका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए ।
समितिलाई गठनसँगै आन्दोलनरत लघुवित्त पीडितसँग तत्काल वार्ता सुरु गर्न निर्देशन दिइएको थियो ।
समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन् ।
अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव तोकिएका छन् ।
समिति गठनलगत्तै अर्थ मन्त्रालयमा वार्ता सुरु भएको थियो ।
पहिलो चरणको छलफल सकारात्मक बनेपछि दुवै पक्षले बाँकी विषयमा सहमति जुटाउने उद्देश्यले शुक्रबार पुनः वार्ता गर्ने सहमति गरेका छन् ।