काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रमा ५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
सम्भावित तनाव र शान्ति-सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार (आज) उक्त आदेश जारी गरेका हुन् ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
आदेशअनुसार तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य कुनै पनि किसिमका सामूहिक गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।
निषेधाज्ञाको आदेश उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।