विदेशी नागरिक कुटपिट गर्ने २ जना र पाथीभारा माता पक्राउ
काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौंको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो । सो डान्स क्लबले भारतीय नागरिकलाई कुटपिट गरी बढी बिल बनाई जबरजस्ती मोबाइल बैंकिङमार्फत बिल तिर्न लगाउने गरेको पाइएको छ । उनीहरूले प्रहरी कर्मचारीको काममा बाधा गरेको तथा हातपात गरेका थिए । उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा पाथीभारा माता जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । थापाले धर्मका नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापालाई फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आज बस्दै प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची
काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।
मनसुनी वायुको प्रभाव: आज पनि भारी वर्षाको उच्च जोखिम
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिमा उल्लेखछ । कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी कोशी प्रदेशको पहाडी र तराई भू-भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।