सिएमसी बन्यो देशकै उत्कृष्ट मेडिकल कलेज, इजिप्ट र रुसमा पढ्नेको नतिजा शून्य
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ । जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी, उक्त परीक्षामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भएका छन् । यसैगरी, भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् भने इजिप्ट र रसीयामा पढेकाहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ । काउन्सिलको नतिजाअनुसार नेपाल बाहिर पढेका विद्यार्थीले ७/८ पटक परीक्षा दिने गरेका तर नेपालका मेडिकल कलेजमा पढेकाले बढीमा २ पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थलाई विश्लेषण गर्दा चिकित्सा विधामा नेपालको पढाइ सन्तोषजनक रहेको देखिन्छ । काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो भए पनि विदेशका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको नतिजाले सम्बद्ध सबैलाई पुनः चिन्तित बनाएको छ । यसै सन्दर्भमा चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाले मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरको मानकका रुपमा लिइने काउन्सिलको यस वर्षको परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको सिएमसीको उत्पादन गर्व गर्न लायक रहेको बताए । कुशल व्यवस्थापनसहित सिएमसीमा कार्यरत शैक्षिक तथा प्रशासनिक जनशक्तिको खटाइ र विद्यार्थीको मेहनतका कारण सर्वोत्कृष्ट हुन सफल भएको स्पष्ट गर्दै उपनिर्देशक कोइरालाले भने, ‘आउँदा दिनमा शत्प्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्ने छौँ । स्वदेश तथा विदेशका प्रतिभावान् विद्यार्थीहरूको पहिलो रोजाइमा ‘सिएमसी’ पर्नेगरी सम्पूर्ण टिम परिचालित हुनेछ ।’ सिएमसी कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरमा अवस्थित सुविधासम्पन्न सिएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएका, अनुभवी एवम् क्षमतावान् शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको र पठनपाठनसहित अनुशासनलाई प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सिमसी कलेज परेको स्पष्ट गरे । सो कलेजमा स्नातक तहको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी (ल्याब), बिएस्सी एमआइटी (रेडियोग्राफी) को पढाइ हुने गरेको छ । यसैगरी, स्नातकोत्तर तहमा एमडी÷एमएस, एमएन, एमपिएच, एमएस्सी माइक्रोबायोलोजी र विशिष्टीकृततर्फ एमडी÷एमसिएचको पढाइ हुने सो कलेजले जनाएको छ । सो क्याम्पसमा अहिले विभिन्न विधा र तहमा गरी १ हजार ४०० विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ ।
सुदूरपश्चिममा ३ हजार ७२३ एचआइभी संक्रमित, लाञ्छना र विभेद अझै हटेन
काठमाडौं । एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुनौतीका रूपमा रहेको छ । एचआइभीबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमितहरू सामाजिक बहिष्कार, अपमान, मानसिक तनावलगायत समस्या भोग्न बाध्य छन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआइभी फोलक पर्सन नरेन्द्रसिंह रावलका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म सुदूरपश्चिम प्रदेशमा एचआइभी सङ्क्रमित ३ हजार ७२३ रहेका छन् । सोही क्रममा ५५ हजार २२८ गर्भवतीको जाँच गरिएकामा जसमध्ये एचआइभी सङ्क्रमित ३ जना मात्रै रहेका छन् । प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा एचआइभी पोजेटिभको सङ्ख्या १ हजार ७४५ रहेको छ । दार्चुलामा सङ्क्रमितको सङ्ख्या ४५ रहेको छ । यसैगरी, अछाममा ५८४, डोटीमा ४९३, कञ्चनपुरमा ४६०, बैतडीमा ११८, डडेल्धुरामा ११५, बझाङमा ९१ र बाजुरामा ६२ एचआइभी सङक्रमित रहेका छन् । उनका अनुसार नेपालमा एचआइभी सङ्क्रमितको अनुमानित सङ्ख्या ३४ हजार ३३७ छ । तीमध्ये १९ हजार २७९ पुरुष, १४ हजार महिला तथा १ हजार ५८ बालबालिका रहेका छन् । सन् २०२४ को अन्त्यसम्म ३० हजार २१७ जनामा सङ्क्रमण पहिचान भइसकेको छ भने २६ हजार २८८ जना नियमित उपचारमा रहेका फोलक पर्सन रावलले बताए । एचआइभी सङ्क्रमितलाई समाजले अझै पनि नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताउँदै यसले सङ्क्रमितको आत्मविश्वास घटाउने, मानसिक समस्या निम्त्याउने र उपचार प्रक्रियामा समेत असर पार्ने उनको भनाइ छ । ‘धेरै व्यक्तिहरू एचआइभीको नाम सुन्नासाथ डराउने र सङ्क्रमितलाई अलग व्यवहार गर्ने गर्छन्,’ शुक्लाफाँटा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत पदमबहादुर महराले भने, ‘तर अहिले औषधि सेवन गरेर एचआइभी सङ्क्रमित व्यक्तिले सामान्य जीवन बिताउन सक्छन्, उहाँहरूलाई समाजबाट टाढा राख्नु वा अपमान गर्नु गलत हो ।’ एचआइभीसम्बन्धी गलत धारणाकै कारण धेरै जना परीक्षण गराउन हिच्किचाउने गरेका छन् । समयमै परीक्षण र उपचार सुरु गर्न नसक्दा सङ्क्रमण थप जटिल बन्ने जोखिम छ । एचआइभी सङ्क्रमण असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग, लागूऔषध प्रयोग गर्दा सुई साटासाट गर्ने व्यवहार, सङ्क्रमित औजारको प्रयोग तथा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने गर्छ । गर्भावस्था, प्रसूति तथा स्तनपानको समयमा आमाबाट बच्चामा सङ्क्रमण सर्न सक्ने भएकाले गर्भवती महिलाको नियमित परीक्षण आवश्यक रहेको छ । स्वास्थ्यकर्मी हरि नाथले खोक्दा, हाच्छ्युँ गर्दा, हात मिलाउँदा, अँगालो हाल्दा, सँगै बसेर खाना खाँदा, एउटै भाँडाकुँडा प्रयोग गर्दा, सार्वजनिक शौचालय प्रयोग गर्दा, लामखुट्टेले टोक्दा वा एउटै कार्यस्थलमा काम गर्दा एचआइभी नसर्ने स्पष्ट पारे । एचआइभी सङ्क्रमितसँग सामान्य सामाजिक सम्बन्ध राख्न कुनै जोखिम नरहेको बताउँदै यस्ता भ्रमले नै लाञ्छना र विभेदलाई बढावा दिएको उनको भनाइ छ । एचआइभी सङ्क्रमित व्यक्तिमाथि हुने लाञ्छना र भेदभावले सङ्क्रमित व्यक्तिमा एक्लोपनको भावना बढ्ने, आत्मविश्वास घट्ने, मानसिक तनाव, चिन्ता, निराशा तथा सामाजिक गतिविधिबाट टाढा हुने समस्या देखिने स्वास्थ्यकर्मीहरू बताउँछन् । यस्ता व्यवहारका कारण कतिपय व्यक्तिहरू उपचारबाट समेत टाढा रहने, आफ्नो स्वास्थ्य अवस्था लुकाउने तथा परीक्षण नगराउने प्रवृत्ति रहेको उनीहरुको भनाइ छ ।
हिमाली र पहाडी भेगमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
काठमाडौं । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । हिमाली तथा पहाडी भागका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ । आज राति देशका हिमाली भागमा साधारणतया बदली रहने, पहाडी भाग तथा मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ । कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैसँग आग्रह गरेको छ ।