नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको नयाँ कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक साह आयल निगमका पूर्वनिमित्त कार्यकारी निर्देशक हुन् । तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले गत वैशाख ३० गते आफ्नो पदबाट राजीनामा दिएपछि निगममा प्रमुख पद रिक्त रहँदै आएको थियो । रिक्त पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस समितिले असार १ गतेको निर्णयानुसार असार २ गते खुला आवेदन आह्वान गरेको थियो । सिफारिस समितिले सार्वजनिक गरेको ६ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका साहलाई नै सरकारले कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिएको हो ।
मुख्यसचिवको तलब ९० हजार, कार्यालय सहयोगीको २८ हजार ९८४
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको नयाँ तलबमान तथा सेवा–सुविधा कार्यान्वयनमा ल्याएको छ । नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषदले स्वीकृत गरेको हो । साउन ६ गते बसेको बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा मासिक प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था स्वीकृत गरेको हो । निर्णयअनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल स्वास्थ्य सेवा, सङ्घीय संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीका लागि अनुसूची–१ देखि अनुसूची–८ सम्म नयाँ तलबमान निर्धारण गरिएको छ । उक्त व्यवस्था निवृत्तिभरण प्रयोजनका लागि समेत लागू हुने उल्लेख गरिएको छ । नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ९० हजार ४२५ हुनेछ । उक्त तलबमा कर्मचारीको ग्रेड थपिँदा तलब यसभन्दा धेरै हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा धेरै तलब पाउने मुख्यसचिवले ९० हजारभन्दा माथि तलब लिँदा सबैभन्दा कम कार्यालय सहयोगीको तलब हुनेछ । नयाँ तलबमानअनुसार कार्यालय सहयोगीको तलब २८ हजार ९८४ रुपैयाँ कायम भएको छ ।
अमेरिका जान झुटो बोली अन्तवार्ता दिए सधैंका लागि प्रवेशमा रोक
काठमाडौं । अमेरिकन दूतावासले भिसा अन्तवार्ताका क्रममा झुटो नबोल्न आग्रह गरेको छ । झुटो बोलेमा अमेरिकाको भिसा सधैंका लागि नलाग्ने दूतावासले चेतावनीसमेत दिएको छ । ‘भिसाको अन्तवार्ताको क्रममा सधैँ सत्य बोल्नुहोस्,’ दूतावासले भनेको छ, ‘झुटो बोलेमा तपाईंलाई भविष्यमा भिसा वा अमेरिका प्रवेशका लागि स्थायी रूपमा प्रतिबन्ध लाग्न सक्नेछ ।’ कन्सुलर अधिकारीहरूले विगतमा अध्यागमनसम्बन्धी नियम उल्लङ्घनबारे गरिएका गतिविधिका बारेमा जानकारी राख्ने पनि दूतावासले बताएको छ । त्यसैगरी, दूतावासबाहिर कसैले ‘दूतावासमा आफ्नो चिनजान छ’ भन्दै भिसा अन्तर्वार्ताको समय छिटो मिलाइदिने भने गरेको पाइएमा त्यो ठग हो भनेर बुझ्न पनि दूतावासले आग्रह गरेको छ । अन्तर्वार्ताको समय लिन वा परिवर्तन गर्न चाहेमा अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा जानुपर्ने पनि दूतावासले जनाएको छ ।